विश्वको सबैभन्दा धनी टी–२० लिग सुरु गर्ने योजना

काठमाडाैं । साउदी अरबले विश्वको सबैभन्दा धनी टी–२० लिग सुरु गर्ने योजना तयार पारेको छ । अहिले इन्डियन प्रिमियर लिग (आईपीएल)- २०२३ विश्वको सबैभन्दा आकर्षक टी–२० लिग जारी छ । यो लिग वित्तको सन्दर्भमा होस् वा विश्व लेबलका खेलाडीहरूको संलग्नता वा सोशल मिडियामा यसको चर्चाको कुरालाई लिएर शिर्ष स्थानमा छ ।
विश्वभरका अन्य टी–२० लीगहरूको तुलनामा आइपीएल अग्रस्थानमा छ । यद्यपि यो स्थिति चाँडै परिवर्तन हुन सक्छ किनभने साउदी अरेबियाले आईपीएलका मालिकहरूलाई उसको देशमा ‘विश्वको सबैभन्दा धनी टी–२० लीग’ स्थापना गर्न प्रस्ताव गरेको छ। फुटबल र फर्मुला वान जस्ता अन्य खेलहरूमा ठूलो लगानी गरेपछि साउदी अरेबियाको नजर अहिले क्रिकेटमा छ । हाल, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय खेलाडीहरूलाई कुनै पनि विदेशी लिगमा भाग लिन प्रतिबन्ध लगाएको छ। तर, साउदी अरब सरकारले नयाँ टी–२० लिग गराउने प्रस्ताव गरेपछि बोर्डले यो नियम परिवर्तन गर्न सक्नेछ ।
मिडिया रिपोर्टहरु अनुसार यो विषयमा करिब एक वर्षदेखि वार्ता चलिरहेको छ । यस विषयमा कुनै पनि निर्णय हुनु अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अनुमति लिनुपर्ने हुन्छ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले क्रिकेटमा साउदी अरेबियाको चासोको पुष्टि गरेका छन्। बार्कलेले भनेका छन , “साउदि अरेबिया संलग्न अन्य खेलहरू हेर्दा क्रिकेटमा पनि यसले राम्रो गर्ने आशा गर्न सकिन्छ ।”
यता साउदी अरेबिया क्रिकेट महासंघका अध्यक्ष राजकुमार साउद बिन मिशाल अल साउदले आफुहरु क्रिकेटमा लगानी गर्न निकै इच्छुक रहेको बताएका छन । हाम्रो उद्देश्य साउदी अरेबियालाई विश्व क्रिकेट गन्तव्य बनाउनु हो राजकुमार साउद बिन मिशाल अल साउदले अरब न्यूजलाई भनेका छन् । उनले भनेका छन् ” हाम्रो उद्देश्य स्थानीय तथा प्रवासीहरूका लागि दिगो रोजगारि सिर्जना गर्नु र साउदी अरेबियालाई विश्वव्यापी क्रिकेट गन्तव्य बनाउनु हो।”

प्रतिक्रिया