विस्थापित भएको २३ वर्षपछि विद्यालय पुनःस्थापना

नेपालखोज २०८० वैशाख ३ गते ९:४५

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय २ दशकपछि पुनःस्थापना भएको छ ।

सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय विक्रम संवत् २०५७ सालमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनःस्थापना गरिएको छ ।

नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे । विक्रम संवत् २०२६ सालमा स्थापना भएको जनतासिद्ध निमावि विक्रम संवत् २०५७ सालको बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो ।

एउटै परिसरबाट २ वटा विद्यालय सञ्चालन भएको केही वर्षपछि २ विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीय क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन । विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया