आइतबार, जेठ ६, २०८१

बालबालिका तथा किशोरकिशोरीको सफलताको आधारः कार्यकारी क्षमता

अनन्त घिमिरे २०८० भदौ २४ गते ७:५७

कार्यकारी क्षमता (Executive Function) बौद्धिक क्षमताहरू मद्ध्ये एक प्रणाली हो जसले बालबालिका तथा वयस्कहरूलाई योजना बनाउन, ध्यान केन्द्रित गर्न, निर्देशनहरू सम्झन र धेरै अप्ठ्यारा कार्यहरू पनि सफलतापूर्वक गर्न मद्दत गर्दछ । यसलाई हामी एअर ट्राफिक कन्ट्रोल सिस्टमसँग तुलना गरेर पनि बुझ्न सक्छौं ।

जसरी एअर ट्राफिक कन्ट्रोल सिस्टमले विमानचालकहरूलाई विमान उडान या अवतरण गर्न सहि निर्देशनहरू दिन्छन् त्यसैगरी कार्यकारी क्षमताले बालबालिका तथा किशोरकिशोरीहरूलाई उनीहरूले गर्नुपर्ने कार्यहरू सफलतापूर्वक गर्न मद्दत गर्दछ । यस्ता सीपहरू शैक्षिक तथा सामाजिक सफलताको लागि महत्त्वपूर्ण हुने गर्दछन्, भने दैनिक जीवनयापनलाई सहज बनाउन र दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न पनि आवश्यक हुन्छन् ।

बालबालिकाले प्रारम्भिक बाल्यावस्थादेखि नै कार्यकारी क्षमता विकास गर्न थाल्छन् र बाल्यकाल र किशोरावस्थामा यी सीपहरूलाई सुधार र परिष्कृत गर्ने क्रमलाई निरन्तर दिइरहन्छन् । यद्यपि, केही बालबालिकाले कार्यकारी क्षमता विकास गर्ने क्रममा निकै नै संघर्ष गर्नु पर्ने हुन्छ । जसले उनीहरूको  विद्यालय र सामाजिक परिस्थितिहरूमा सिक्ने र कार्य गर्ने क्षमतालाई असर पुर्याउन सक्दछ ।

कार्यकारी क्षमताका प्रमुख चार विषेशताहरू

१. कार्यस्मरण: आफूले गर्नु पर्ने काम नबिर्सिने र गरुन्जेल योजनाबद्ध तरिकाले गर्न सक्ने क्षमता हो । उदाहरणको लागि, कुनै बालबालिकाले पसलमा सामान किन्न गएमा आफूले किन्नु पर्ने सामानहरूको सूची सामान खरिद गरुन्जेलसम्मको लागि याद गर्ने क्षमता हो । यो प्रकृयामा बालबालिकाले याद गरेको उक्त सूची पूनः सम्झिरहन आवश्यक पर्दैन ।  

२. बौद्धिक लचकता: यो एक कार्यबाट अर्को नयाँ कार्यमा जान सक्ने अथवा नयाँ कामको बारेमा जानकारी प्राप्त गरि नयाँ योजना  बनाउन सक्ने क्षमता हो । यसले बालबालिका तथा किशोरकिशोरीहरू मानसिक रुपमा कति लचिलो छन् र कसरी निर्णय लिन सक्दछन् भन्ने देखाउँछ । उदाहरणका लागि, बालबालिकाले विद्यालयमा गणित र अर्को नयाँ भाषा सिक्नु पर्ने अवस्थामा पहिले कुन सिक्ने र त्यसपछि कुन सिक्ने भन्ने कुरामा योजना बनाउन र आवश्यक पर्दा योजना परिवर्तन गर्न पनि सक्षम हुन्छन् ।

यसलाई अर्को तरिकाले बुझ्नु पर्दा आफ्नो सोचाइका बारेमा सोच्न सक्ने (अनुभुत गर्न सक्ने) क्षमता हो जसलाई अङ्ग्रेजीमा Metacognition भन्ने गरिन्छ । यसको अर्थ हामीले सिक्नु पर्ने विषयका बारेमा के कति थाहा छ अथवा छैन भनेर पहिले नै सोच्न सक्ने एक जटिल सीप हो । यस्तो सीप कुनै परिक्षाकालागि  तयारी अध्ययन गर्दा होस् अथवा अप्ठ्यारा कार्यहरू(Assignments) गर्न र नयाँ शिक्षण सामग्रीहरूका बारेमा बुझ्न सक्ने क्षमता हो ।

३. आवेग नियन्त्रण: यो संवेगहरूलाई नियन्त्रण गर्ने र प्राथमिकतामा राखेको आफ्नो कार्यमा ध्यान केन्द्रित गर्न सक्ने क्षमता हो । यस्तो सीप, उदाहरणका लागि, कुनै बालबालिकाले आफ्नो गृहकार्य पूरा गरेपछि खेलौनासँग खेल्न पाउँछु भन्ने प्रलोभनको प्रतिरोध गर्न आवश्यक हुन सक्छ ।

४. योजना र कार्य व्यवस्थापन: आफूले गर्नु पर्ने कार्यलाई स-साना चरणहरूमा विभाजन गर्ने, योजना बनाउने र त्यसलाई कार्यन्वयन गर्न समय निर्धारण गर्न सक्ने क्षमता हो । उदाहरण को लागी, कुनै बालबालिकाले विद्यालयको लागी आफ्नो परियोजना कार्यको योजना बनाउन वा आफ्नो सामानहरू मिलाएर आफ्नो कोठालाई सफा सुग्घर राख्न सक्ने हुन्छन् । यसको लागि अभिभावकको दैनिक निर्देशनको आवश्यकता पर्दैन र यो उनीहरूले आफ्नो दिनचर्या, बानी र अनुशासनका रुपमा स्वतः गर्ने गर्दछन् । 

युनिसेफ नेपाल

प्रतिक्रिया