बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने मौका गुमायो

नेपालखोज २०८० वैशाख ३ गते २१:४९

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थानमा रहेको सातदोबाटो युथ क्लव बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा सातदोबाटो पुछारबाट दोस्रोस्थानमा रहेको नेपाल पुलिस क्लवसँग गोलरहित बराबरीमा रोकिएसँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।  

खेलको १५ औं मिनेटमा पुलिसले अग्रतत लिने अवसर गुमाएको थियो । रवि पाशवानको क्रसमा जोय आइडुले बललाई पोस्टको दिशा दिन सकेनन् ।

त्यस्तै खेलको १६ औं मिनेटमा सातदोबाटोले पनि अग्रता लिने अवसर गुमायो । सातदोबाटोका  इभानको क्रसमा दिपक सिंह ठकुरीले गरेको  प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधनले बचाए ।

खेलको ४९ औं मिनेटमा सातदोबाटोका दिपक सिंह ठकुरीको प्रहार गोलपोस्ट नजिकबाट बाहिरिन पुग्यो । खेलको ५३ औं मिनेटमा सातदोबाटोका विलियम असिडेउको प्रहार क्रसबारमाथि बाट बाहिरियो । 

बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन् । सातदोबाटो युथ क्लवले लिगको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । सातदोबाटोको नौ खेलबाट १७ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

समान अंक भएता पनि जावलाखेल गोलअन्तरका आधारका पहिलो स्थानम रहेको छ । त्यस्तै पुलिस १४ औं स्थानबाट १३औं स्थानम उक्लिएको छ ।  

प्रतिक्रिया