शुक्रबार, वैशाख १२, २०८२

मीन राशिका लागि वर्ष – २०८०

नेपालखोज २०८० वैशाख ४ गते ७:५५

मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम रहने देखिन्छ । बृहस्पतिका कारण कीर्ति बढेर जाने, धनलाभ हुने तथा बेलाबेलामा सुखको अनुभूति हुनेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिका कारण धनहानि हुनसक्छ । शनिको साढेसतिले गर्दा झुटा आरोप लाग्ने, चिन्ता, हानी, वाधा, नोक्सानी , कार्यसम्पादनमा उल्झन, मनमा दुबिधा आदि हुनेछ । घरपरिवारमा माङ्गलिक कार्य सम्पन्न होला । समग्रमा यो वर्ष मिश्रित फल पाइनेछ ।

व्यापार – व्यवसाय : यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । मदिरा, प्रेस तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा नोक्सानी हुनसक्छ । लगानी गरेको ठाउँबाट लाभ भए पनि आय भन्दा व्यय बढि हुनेछ । सञ्चित धन पनि नास हुनसक्छ । सुझबुझ र अनुभव भए मात्र शेयर बजारमा हात हाल्नु होला । आर्थिक दृष्टिले जेठ, भाद्र र पुष महिना राम्रो रहनेछ ।

प्रेम जीवन : यो वर्ष नयाँ प्रेम सम्बन्ध जोडिन सक्छ । पुरानो प्रेम सम्बन्ध हुनेहरु विवाह बन्धनमा बाँधिने छन् । जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूले प्रेममा विवादको सामना गर्नुपर्ने हुनसक्छ । नजिकका व्यक्तिसँग पनि मतभेद बढ्नसक्छ ।

शिक्षा : यो वर्ष अध्ययन – अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । वर्षको मध्य देखि शैक्षिक क्षेत्र कमजोर हुन सक्छ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने वा पढाईमा ध्यानाकर्षण नहुने समस्याले सताउला । यद्यपि वर्षको अन्त्यमा भने शैक्षिक क्षेत्र राम्रो हुनेछ । आई. टी. र शोध विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हात पार्नेछन् । कानून तथा वाणिज्य विषयका विद्यार्थीहरूका लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

करियर : यो वर्ष नयाँ जागिर वा रोजगारिको अवसर जुटनेछ । सरकारी जागिर खान भने सजिलो छैन अतः बढी मेहनत गर्नुपर्ने देखिन्छ । नयाँ ठाउँमा लगानी गर्नु पूर्व राम्रोसँग विचार पुर्याउनु पर्छ । रोजगारिका लागि विदेश जान चाहनेहरूका लागि समय राम्रो छ । वैदेशिक रोजगारि मै सरुवा – बढुवाको योग पनि छ । मनोरञ्जन, सामाजिक तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।

स्वास्थ्य : यो वर्ष प्रजनन, छाला तथा आँखाको समस्या बढ्नसक्छ । आफ्नो तथा आफ्ना हितैषीको औषधि उपचारमा धन खर्च गर्नुपर्ला । राम्रो स्वास्थ्यका लागि खानपिनमा ध्यान दिदै नियमित व्यायाम गर्नुहोला ।

शुभ रङ्ग तथा अङ्क : मीन राशिका लागि घ्यू , सुन्तला , सेतो तथा रातो रङ्ग शुभ मानिएको छ भने शुभ अङ्क १, २, ५, ६ तथा ७ हो ।

सुझाव : ग्रह पीडाबाट जोगिदै भाग्य वृद्धि गराउन राहु, केतु तथा शनिको ग्रह शान्ति, जप, पाठ – पूजा आदि गराउनु होला । सत्य बोल्ने बानिले फाइदा पुर्याउनेछ । बिहीवारको दिन केराको वृक्ष रोपेर पूजा गरे शुभफल पाइनेछ । प्रत्येक शुक्रबार लक्ष्मीमाताको दर्शन, पूजा तथा उपासना गर्दा शुभलाभ मिल्नेछ । शुक्रबार सेतो पहिरन लगाए भाग्य वृद्धि हुनेछ ।

प्रतिक्रिया