उच्च मनोबलमा नेपाल

नेपालखोज २०८० वैशाख ५ गते ८:४७

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जारी गरेको नेपालमा हुने प्रिमियर कपको समूह र खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । जसमा ओमान, कतार, मलेसिया तथा साउदी अरेबिया छन् भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले आफ्नो पहिलो खेल आज वैशाख ५ गते मङ्गलवार मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । त्यसपछि नेपालले वैशाख ११ मा साउदी अरेबियासँग मुलपानीमा तथा वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई देशले यो प्रतियोगिताको सेमिफाइनल खेल्ने छन् ।

सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनल वैशाख १८ गते (मे १) मा टियुमा हुनेछ । फाइनलको विजेता देश आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ । यसका साथै विजेतासहित शीर्ष तीन टिम एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।

हालै सम्पन्न आइसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाली क्रिकेट टिमले १२ खेलमध्ये ११ खेलमा जित निकाली एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा समेत स्थान बनायो । उच्च मनोबलका साथ अघि बढिरहेको नेपाल यो प्रतियोगितामा पनि घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै च्याम्पियन बन्दै सोझै एसिया कपमा प्रवेश गर्न चाहन्छ ।

प्रतिक्रिया