हावामा मात्र होइन, माटोमा पनि घोलियो प्रदूषणको विष

काठमाडाैं । आज माटोमा भारी धातु, कीटनाशकहरू, माइक्रोप्लास्टिक तथा एन्टिबायोटिक-प्रतिरोधी जीनहरू यसरी घुलेका छन् कि यीनले शहरी क्षेत्र लगायत प्राकृतिक वातावरण दुबैलाइ लगभग समान रुपमा दुस्प्रभावित तुल्याएका छन् । माटोमा बढिरहेको यो प्रदूषण इकोसिस्टमको स्थिरता र जिवहरुको स्वास्थ्यका लागि ठूलो खतरा हो ।
भारत, स्पेन, चीन, स्विट्जरल्यान्ड, अष्ट्रेलिया, जर्मनी, चिली, दक्षिण अफ्रिका, नाइजेरिया, फ्रान्स, पोर्चुगल, स्लोभेनिया, मेक्सिको, अमेरिका, ब्राजिल तथा इजरायलका अनुसन्धान संस्थान एवं विश्वविद्यालयसँग आवद्ध ४० भन्दा बढी अनुसन्धानकर्ताले गरेको अध्ययनमा यो जानकारी आएको हो ।
यो अध्ययनको नतिजा नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित भएको छ । यो अनुसन्धान भारी धातु, आर्सेनिक, क्याडमियम, क्रोमियम, तामा, सिसा, पारा, निकल, जस्ता, ४६ वटा कीटनाशक तथा माइक्रोप्लास्टिक्समा केन्द्रित थियो। अध्ययनसँग सम्बद्ध इकोलोजिस्ट कार्लोस सान्ज लाजारो भन्छन् – माटो प्रदूषणसँग सम्बन्धित वातावरणीय तनाव जसको कारण चाहे प्राकृतिक होस् वा मानिस यसले जैविक विविधतामा प्रत्यक्ष असर पार्न सक्छ । यसले प्रदूषण, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरू विरुद्ध इकोसिस्टमको लचिलोपनलाई कमजोर पार्न सक्छ । त्यसैगरी सहरी क्षेत्रमा बढ्दो माटो प्रदुषणले जनताको स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।
उदाहरणका लागि, माटोमा अवस्थित विषाक्त धातुहरूले पानीको गुणस्तरलाई असर गर्न सक्छन । यसबाहेक सहरका हरियाली क्षेत्रहरू माटोसँग प्रत्यक्ष सम्पर्कमा आउने मानिसहरूका लागि मनोरञ्जनको महत्त्वपूर्ण ठाउँहरू हुन्। अहिले सवारीसाधनबाट हुने उत्सर्जन, औद्योगिक प्रक्रिया र विषादीका साथै फोहोरको अनुचित व्यवस्थापनले माटो प्रदुषणलाई लगातार बढाइ रहेको छ । यस्तो अवस्थामा प्राकृतिक क्षेत्रभन्दा सहरमा रहेका यी हरियाली क्षेत्र यो प्रदुषणबाट बढी प्रभावित हुने विश्वास गरिँदै आएको छ भने प्राकृतिक क्षेत्र भौगोलिक रूपमा यो प्रदुषणबाट टाढा रहेको र यसको बढ्दो विषाक्तताबाट सुरक्षित रहेको विश्वास गरिन्छ ।
यद्यपि यो अनुसन्धान अनुसार यो कुरा सही होइन । हावा, पानी र फोहोरको अनियन्त्रित विसर्जनका कारण भारी धातु, कीटनाशक, माइक्रोप्लास्टिक र एन्टिबायोटिक प्रतिरोधी जीन जस्ता घातक प्रदूषकहरू प्राकृतिक वातावरणमा जताततै फैलिरहेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार छ वटा महादेशमा यस्ता प्रमाण फेला परेका छन् जसले सहर र प्राकृतिक क्षेत्रको माटोमा हुने प्रदूषकको मात्रा लगभग उस्तै रहेको पुष्टि गर्छन् । मानव बसोबास नभएको क्षेत्रको माटोमा पनि माइक्रोप्लास्टिक अन्टार्कटिका जस्तो माव बसोबास नभएको क्षेत्रको माटोमा पनि माइक्रोप्लास्टिकका कणहरू भेटिएका छन् ।
जुन अन्टार्कटिका र अन्य महादेशका अनुसन्धान स्टेशनहरूबाट समुद्र र हावाबाट ल्याइएको प्लास्टिक कणहरू हुन सक्छन् । त्यस्तै पर्यटन जस्ता थुप्रै गतिविधिका कारण अन्टार्कटिकाको माटोमा माइक्रोप्लास्टिक जम्मा भैरहेका छन् । त्यसैगरी मानवले बनाएको माइक्रोप्लास्टिक सहरमा मात्र नभई विश्वभरका प्राकृतिक इकोसिस्टममा पनि घोलिएको यो अध्ययनले देखाएको छ । अचम्मको कुरा, यसको मात्रा शहरी हरियाली क्षेत्र र प्राकृतिक वातावरणको माटोमा लगभग समान थियो। तिनीहरूको पोलिमरहरू पनि उस्तै थिए। यसअघिको अनुसन्धानबाट पनि प्रायः क्षेत्रमा उत्पादन हुने प्लाष्टिकका यी सूक्ष्म कणले हावाको माध्यमबाट टाढा–टाढाका क्षेत्रमा असर गरिरहेको स्पष्ट भैसकेको छ ।
पेरिस, लन्डन र डोङगुआन (चीन) जस्ता शहरहरूले उत्पादन गरेका फाइबर यसको प्रमुख उदाहरण हुन् । यी फाइबरहरू सामान्यतया सिंथेटिक कपडाहरू, पलिएस्टर तथा पोलीप्रोपाइलिनबाट बनेका हुन्छन्। प्राकृतिक क्षेत्रको माटोमा पाइने माइक्रोप्लास्टिकको मात्रा र विशेषताहरू विश्वभरका सहरी पार्क र बगैंचाको माटोमा पाइने माइक्रोप्लास्टिकसँग मिल्दोजुल्दो रहेको अनुसन्धानले पुष्टि गरेको छ । हेर्ने हो भने माटोमा घोलिएको यो विषका कारण विश्वको कुनै पनि क्षेत्र सुरक्षित छैन भन्ने प्रष्ट हुन्छ । यस्तो अवस्थामा माटोको यो प्रदूषण रोक्न ठोस कदम चाल्नु जरुरी छ ।

प्रतिक्रिया