स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिक पाएनन्

नेपालखोज २०८० वैशाख ६ गते ९:११

कैलाली । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन् ।

नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन् ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’ सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए ।

चौधरीले भने, ‘स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।’ तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए ।

स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा संघीय सरकारको भएको उनको भनाइ छ । ‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ’, नगरप्रमुख चौधरीले भन्नुभयो, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।’

प्रतिक्रिया