चालु आवमा आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्याङ्कअनुसार व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । भन्सार विभागकोका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म भने नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड रुपैयाँबराबर थियो । यस अवधिमा यस्तो नेपालको व्यापार घाटा १७.०६ प्रतिशतले घटेको हो ।
त्यस्तै, चालु आर्थिक वर्ष नौ महिनामा आयात र निर्यात दुवै घटेको छ । विभागले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको तथ्याङ्कअनुसार यस अवधिमा निर्यात २६.३४ प्रतिशतले घटेको छ भने आयात १८.०८ प्रतिशतले घटेको हो ।
चैत मसान्तसम्म नेपालले १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा भने नेपालले १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा निर्यातसँगै आयातमा पनि कमि आएको छ । गत वर्ष चैत मसान्तसम्म १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँबराबरका वस्तु तथा सेवा आयात गरेको नेपालले १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँबराबरको मात्रै आयात गरेको छ ।
चैत मसान्तसम्ममा नेपालको वैदेशिक व्यापार १८.८९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्ष नौ महिनामा १३ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड रुपैयाँबराबर वैदेशिक व्यापार भएको थियो ।

प्रतिक्रिया