लखनउले राजस्थानलाई १० रनले हरायो

नेपालखोज २०८० वैशाख ७ गते ६:३२

काठमाडाैं । लखनउले राजस्थानलाई जितका लागि १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । हारपछि पनि राजस्थान अंक तालिकाको पहिलो स्थानमा छ । लखनउको पनि ६ खेलबाट ८ अंक भएपनि रनरेटका आधारमा राजस्थान अगाडि छ । यो खेलमा लखनउका मार्कस स्टोइनिस म्यान अफ द म्याच घोषित भए । उनले २१ रन बनाउँनुका साथै दुई विकेट लिए ।

१२औं ओभरमा राजस्थानको ओपनिङ जोडी मार्कस स्टोइनिसले तोडे । उनले यशस्वी जयसवाललाई आवेश खानको हातमा क्याच आउट गराए। उनले ३५ बलमा ४४ रन बनाए । अर्को ओभरमा राजस्थानका कप्तान सञ्जु सामसन बटलरसँग रन लिने क्रममा भएको गलतफहमीका कारण रनआउट भए । उनले चार बलमा दुई रन मात्र बनाउन सके । १४औं ओभरमा स्टोइनिसले बटलरलाई रवि बिश्नोईको हातमा क्याच गराए । बटलरले ४१ बलमा ४० रन बनाए । जयपुरमा शिमरोन हेटमायरले पनि उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनी पाँच बलमा मात्र दुई रन बनाएर अवेश खानको शिकार बने ।

राजस्थान समस्यामा पर्न थालेपछि १८औं ओभरमा स्टोइनिसलाई तीन चौका प्रहार गर्दै देवदत्त पदिकलले केही आशा जगाएका थिए । उक्त ओभरमा १३ रन बनेको थियो । राजस्थानले अन्तिम दुई ओभरमा २९ रन जोडेको थियो । लखनउका कप्तान केएल राहुलले नवीन उल हकलाई बल दिए । रन दिनमा कञ्जुस साबित भएका नवीनलाई रियान परागले निशाना बनाएर चौथो बलमा छक्का प्रहार गरे । तर राजस्थानका ब्याट्सम्यानले यो ओभरमा १० रन मात्र बनाउन सके । अन्तिम ओभरमा राजस्थानले जितका लागि १९ रन जोड्नु थियो ।

अवेश खान अन्तिम ओभर बलिङ गर्न आएका थिए । परागले आफ्नो पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बलमा एक रन आयो । अब चार बलमा १४ रन आवश्यक थियो । ओभरको तेस्रो बलमा आवेश खानले पादिकाललाई विकेटकिपर पुरनबाट क्याच गराए। इम्प्याक्ट प्लेयरका रुपमा मैदानमा उत्रिएका पदिकलले २१ बलमा २६ रन बनाए । अर्को बलमा ध्रुव जुरेल बललाई बाउन्ड्री बाहिर पठाउने प्रयासमा आउट भए । बाउन्ड्रीमा दीपक हुड्डाले उत्कृष्ट क्याच लिए । ओभरको पाँचौं बलमा आर अश्विनले दुई रन बनाए । अन्तिम बलमा अश्विनले एक रन मात्र बनाउन सके र लखनउ १० रनले बिजयी भयो । यसअघि लखनउ सुपर जाइन्ट्सले २० ओभरमा सात विकेट गुमाएर १५४ रन बनाएको थियो । लखनउले २० ओभरमा १८ चौका (१३ चौका र पाँच छक्का) मात्र हानेको थियो ।

टस जितेर राजस्थानले लखनउलाई पहिले ब्याटिङ गर्न बोलाएको थियो । ट्रेन्ट बोल्टले लखनउका कप्तान केएल राहुललाई आफ्नो पहिलो ओभरमा कुनै रन बनाउन दिएनन् । दोस्रो ओभरमा मायर्स र राहुलले सन्दीप शर्माको बलमा चौका प्रहार गरे र ओभरमा कुल १२ रन जोडे तर तेस्रो ओभरमा बोल्टले पुनः रनको गतिलाई रोकेर दुई रन मात्र दिए । चौथो ओभरमा यशस्वी जयसवालले राहुलको क्याच छोडे। त्यती बेला उनी ६ रनमा थिए । सोही ओभरमा राजस्थानले लखनउका कप्तानलाई रनआउट गर्ने मौका पनि गुमायो । ६ ओभर अर्थात् पावर प्लेको अन्त्यमा लखनउको खातामा ३७ रन मात्र थियो । आठौं ओभरमा होल्डर बलिङमा आए । आफ्नो चौथो बलमा मायर्सले छक्का प्रहार गर्दै लखनउको स्कोरलाई पचास रनभन्दा माथि पुर्याए। उक्त ओभरमा राहुलले पनि चौका रन बनाए । चहलको दोस्रो र लखनउको इनिङ्सको नवौं ओभरमा मायर्स र राहुलको जोडीले गियर परिवर्तन गरे । दुवैले यो ओभरमा कुल १८ रन जोडे ।

१० ओभरपछि लखनउको स्कोर बिना कुनै नोक्सान ७९ थियो। ११ औं ओभरमा जेसन होल्डरले केएल राहुललाई जोस बटलरको हातमा क्याच आउट गरे । राहुल ३२ बलमा ३९ रन बनाएर बाहिरिए । पहिलो विकेट पतन हुँदा लखनउको स्कोर ८२ रन थियो। आयुष बडोनीलाई तेस्रो नम्बरमा पठाउने निर्णय सफल भएन । बडोनी चार बलमा मात्र एक रन बनाएर बोल्टको शिकार बने । मायर्सले १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ५० रन जोडन ४० बल खेले । अर्को ओभरमा दीपक हुडालाई आर अश्विनले प्याभिलियन पठाए। उनले चार बलमा दुई रन मात्र बनाउन सके ।

लखनउको सय रन १४ औं ओभरमा पूरा भयो। सोही ओभरमा मायर्सलाई अश्विनले बोल्ड गरे । उनी ४२ बलमा ५१ रन बनाएर आउट भए । चौथो विकेट पतन हुँदा लखनउको स्कोर १०४ रन थियो । मार्कस स्टोइनिसले १६ बलमा २१ रन बनाए । उनलाई अन्तिम ओभरमा सन्दीप शर्माले आउट गरेका थिए । लखनउको इनिङ्सको १५० रन २० औं ओभरमा पूरा भयो। निकोलस पूरन अन्तिम ओभरमा २९ (२० बल) को व्यक्तिगत स्कोरमा रनआउट भए। अन्तिम बलमा युधवीर सिंह एक रन बनाएर रनआउट भए । राजस्थानका लागि अश्विनले २३ रनमा दुई विकेट लिए । बोल्ट, सन्दीप शर्मा र जेसन होल्डरले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया