चुम शताब्दी श्याग्या महोत्सव

नेपालखोज २०८० वैशाख ७ गते ७:५६

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा संचालनमा आएको ‘चुम शताब्दी श्याग्या महोत्सव – २०८०’ ले ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नारा बोकेको छ । प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको चुम शताब्दी श्याग्या महोत्सव – २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा सुरु भएको यो महोत्सव चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यका साथ आयोजना भएको हो । महोत्सव भोलि शुक्रबार सम्म तीन दिन सञ्चालन हुनेछ । विसं १९७७ को बुद्धजयन्तीका अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरी सामूहिक प्रतिबद्धता गराउनुभएको र त्यस समयदेखि नै चुमबासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए । अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुँदैन । महोत्सवले चुमबासीहरुको सामाजिक सांस्कृतिक एकतालाई थप मजबुत बनाउनाका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुु¥याउने र सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त अध्यक्ष लामाको छ ।

महोत्सवमा शान्तिदीप प्रज्वलन र चुम उपत्यका स्थानीय समुदायद्वारा हस्ताक्षर गरी अहिंसा क्षेत्रलाई निरन्तरताका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । आज वैशाख ७ गते दोस्रो दिन शान्ति पदयात्रा, धर्मगुरुबाट क्षमापूजा, बौद्धका प्रवचन र सांस्कृतिक कार्यक्रमहरु हुने उनको भनाइ छ । महोत्सवको अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्ने, प्रकृति र संस्कृति संरक्षण गरी प्रमुख लब्राङ लामाबाट ऐतिहासिक नाराक छ्याम् लाखे नाच प्रदर्शनीसहित स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै, महोत्सवको अन्तिम दिन वैशाख ९ गते परम्परागत घोडेजात्रा, स्थानीय संस्कृति कार्यक्रमहरुको प्रदर्शनी गरी चुम श्याग्या शताब्दी महोत्सवको समापन गरिनेछ । मेलामा पालिकाभन्दा बाहिरबाट एक हजार बढी महोत्सव अवलोकनका लागि चुम उपत्यका पुग्ने आयोजकहरुक‍ अपेक्षा छ । यहाँ खाने र बस्ने होटलको राम्रो सुविधा छ । चुम उपत्यकामा हरेक वर्ष करिब एक हजार पाँच सयभन्दा बढी विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि चुम उपत्यका पुग्ने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया