साउदी अरेविया ८ विकेटले पराजित

नेपालखोज २०८० वैशाख ७ गते १४:४२

काठमाडौं । मलेसियाले एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो । ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकको जितमा खेल जितको हो ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा विरनदीप सिंह ५३ बलमा ८ चौकासहित ५१ रनमा आउट भए । अर्का ओपनर मोहम्मद आमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए ।

पहिलो विकेटका लागि आमिर र विरनदीपले ११.२ ओभरमा ८२ रनको साझेदारी गरेका थिए । साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । साउदीका विकेटकिपर हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।

अतिफ उर रहमान ३१ बलमा ३ चौकासहित १८ रनमा अविजित रहेका थिए । अन्तिम विकेटका लागि रहमान र गाफुरले ४४ रनको साझेदारी गर्दै सम्मानजक योगफल तयार पारेका थिए ।

ओपनर अब्दुल वाहिदले ७२ बलमा २ चौकासहित ३६ रन बनाए । तीव्र गतिका बलर वाफिक इफरानले पहिलो ओभरको पाँचौं बलमै ओपनर वाकर उल हसनलाई दुईमा एलबीडब्लू आउट गरेका थिए । अर्का तीव्र गतिका बलर रिजवान हैदरले चौथो ओभरको पाँचौं बलमा इमरन आरिफलाई पाँच रनमा क्याच आउट गराए ।

रिजवानकै बलमा साद खान एक रनमा अनवार रिजवानबाट क्याच आउट भए । त्यसपछि स्पिनरले साउदीलाई धरासयी बनाएका थिए । स्पिनर अनवार रहमानको बलमा मोहम्मद हसन शेख २१ रनमा विरनदीपबाट क्याच आउट भए । विरानदीपले ३७ बलमा २ चौकासहित २१ रन बनाए ।

अब्दुल मनान अली ५ रनमा रहमानकै बलमा बोल्ड आउट भए । स्पिनर खिजार हायतले अब्दुल वाहिदलाई एलबीडब्लू आउट गरे । जैनुल अबिदीन ५ रनमा हायतकै बलमा एलबडब्लू आउट भए । अब्दुल वाहिद हायतकै बलमा बोल्ड भएका थिए ।

मलेसियाका खिजार हायतले १० ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिएका थिए । विरानदीप सिंहले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर १ विकेट लिए । मोहम्मद वाफिकले ४.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रिजवान हैदरले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अनवार रहमानले ९ ओभरमा १ मेडनसहित ४० रन खर्चेर २ विकेट लिए ।

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । मलेसिया पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो । मलेसियाले आइतबार मुलपान मैदानमा ओमानसँग खेल्नेछ । साउदीले दोस्रो खेल शनिबार कतारसँग टियु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया