बिहीबार, असार ५, २०८२

पोखरामा जिप

नेपालखोज २०८० वैशाख ८ गते ९:२५

पोखराको विकासक्रमको उल्टो तथ्याङ्क अनुसार पोखरामा हवाईजहाज २००८ असोजमा भित्रिएको थियो भने जिप २०१३ सालमा भित्रिएको थियो । २०१० मा गोरूगाडा भित्रिएको थियो । २०१३ सालमा राजा महेन्द्रको पोखरा भ्रमणको समय जिप ल्याएको तथ्य भेटिन्छ । यो जिप पोखराको सडकमा मात्रै गुडेन ।

राजा महेन्द्रले पोखरामा रहेको महेन्द्र बटालियनलाई खटाएर कुन्छा सम्म जिप गुड्न मिल्ने सडक बनाउन लगाएका थिए । पोखरा देखि कुन्छासम्म अन्दाजी ५२ किमी सडक सेनाका जवानले केवल साधारण रूपमा तैयार बनाएका थिए । विमानबाट पोखरा ल्याइएको जिपलाई सेती खोला पारी लानु त्यति सहज थिएन । तर त्यस बेला एउटा मात्र सम्भावना भनेको ढुङ्गे साँघुबाट सेती पारी लगिएको हुनुपर्छ ।

सेती पारी पुगेपछि जिपलाई अगाडि बढाउन खासै धेरै कठिनाइ भएन होला । महेन्द्र बटालियनका जवानहरूको सहयोगले कुँडहर हुँदै शिशुवा, राजाको चौतारो, देउराली, दुई पिपले, सोती पसल, बगुवा हुँदै कुन्छा लगिएको थियो । यस बिचमा पर्ने विजयपुर खोला र मादी तर्न समस्या थियो । मादी नदिमा दुई पिप्लेबाट हिउँदमा सजिलै तार्न सकिन्थ्यो । राजा महेन्द्रले कुन्छा लगेको जिप पछि पोखरामा महेन्द्र बटालियनसँग नै रहेको थियो । यो जिप पछि बिक्री हुँदा क्याप्टेन रामबहादुर गुरुङले किने ।

क्याप्टेन रामबहादुरबाट यो जिप खुसीमान मेजरले किनेका थिए । ६५ वर्ष अगाडि राजा महेन्द्रले रहरले बनाएको सडक अहिले सररर गाडी गुडाउन सकिने पिच भइसकेको छ । अहिले २ घण्टामा सहजै कुन्छा पुग्न सकिन्छ । पहिले हिँडेर पोखराबाट कुन्छा पुग्न १२-१३ घण्टा लाग्दथ्यो । २०१९ सालमा आइपुग्दा पोखरामा दर्ता भएर सञ्चालित यातायातको सङ्ख्या जिप ८ वटा, गोरूगाडा २२ वटा र साइकल १३६ वटा थियो ।

गण्डकी अञ्चल यातायात कार्यालय स्थापना नहुँदा पोखरामा जिपहरू गोश्वारामा दर्ता हुन्थे । गोश्वाराले यहाँ गुड्ने जिपमा प.३ नं. गो लेख्दथे । पहिलो तस्बिर – रानी एलिजाबेथको पोखरा भ्रमणको समय पोखराको सडकमा गुडाइएको जिप हो । जिपमा रानी एलिजाबेथ (दोस्रो) साथमा प्रिन्स फिलिप हुनुहुन्छ । त्यति बेला केवल राजकीय भ्रमणको प्रयोजनको लागी पोखरामा चार वटा जिप ल्याइएको थियो । तसर्थ यी कुनै पनि जिपमा नम्बर राखिएको थिएन ।

दोस्रो तस्बिरमा ३ नं. गोश्वारामा दर्ता भएको ८ नं. को जिप यहाँ तस्बिरमा देख्न सक्नुहुन्छ । यो जिप राजा महेन्द्रको जन्मोत्सवको दिन जेठ ३०, २०२० मा राजा महेन्द्रको फोटो सहित बजार परिक्रमा गर्दाको हो । यो जिप महेन्द्र बटालियनसँग रहेको थियो । यसमा गाडी चलाउनु हुने शायद नरबहादुर शेरचन हुनुहुन्छ । उहाँ शायद पोखरामा गाडी चालकको अनुमति पत्र पाउनुहुने पहिलो व्यक्ति हुनुहुन्छ ।

प्रतिक्रिया