आर्मी र पुलिस बराबरी खेले

नेपालखोज २०८० वैशाख ८ गते २१:३८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

हावाहुरीको कारण केहि समय रोकिएको खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो । खेलको ४३ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको फ्रिकिक पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

खेलको ४४ औं मिनेटमा पुलिसका जोइ ऐडोले पेनाल्टी बक्सको ठिक बाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको ५६ औं मिनेटमा पुलिसका मोसेस गाबहले गोलको सुन्दर अवसर गुमाए । वान भर्सेस वानको स्थितिमा उनको फ्लिक प्रहार आर्मीका गोलकिपर विकेश कुथुले जोगाए ।

५६ औं मिनेटमै पुलिसका मोसेसको अर्को सशक्त प्रहार पनि विकेशले बचाए । यस बराबरीसँगै पुछारमा रहेको पुलिसले ११ खेलमा ६ अंक जोडेको छ ।

आर्मीले ११ खेलमा १६ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया