आइतबार, वैशाख २३, २०८१

मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

नेपालखोज २०८० वैशाख ९ गते ६:२६

काठमाडाैं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले आजसम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ । प्रदेशसभाको बैठक आजलाई बाेलाइएकाे छ । आजको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका थिए । 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । ६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया