सोमबार, जेठ २७, २०८२

अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ : प्रधानमन्त्री दाहाल

नेपालखोज २०८० वैशाख ९ गते १४:४७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताएका छन् । उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताए ।

प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे। ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागि पर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको उल्लेख गरे । उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पारे । देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले राजनीतिमा पनि आवेग र सेन्टिमेन्टतर्फ विषय जाने हो कि भन्ने खतरा देखापरेको तथ्य पेस गरे । नेपालमा विकसित भएको मूल्य मान्यतातर्फ नै केन्द्रित गर्नुपर्नेमा विदेशमा स्थापित भएका मूल्य र मान्यतालाई मात्रै मान्नुपर्छ भन्ने सोचले काम गरिरहेको उनको भनाइ छ ।

विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ

प्रधानमन्त्री दाहालले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताए । विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीलाई उनले आग्रह गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्त पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभव पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीति तय गरौँ ।’

अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आआफ्नै मोडेल रहेको उल्लेख गर्दै उनले भने– ‘नव-उदारवाद र समाजवादी अर्थतन्त्रका आआफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन ।’ प्रधानमन्त्री दाहालले हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको उल्लेख गर्दै यसमा धेरै व्यक्ति अल्मलिएको बताए । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेकाले विश्वका अरू मोडेलसँग हुबहु नमिल्ने उनले बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ ।

हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने सङ्कल्प गरेका छौँ । तर हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पुरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । सङ्घीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहनत गर्न आवश्यक छ ।’

सिंहदरबार केन्द्रित मानसिकतामा परिवर्तन भएन

आमजनतालाई आर्थिक विकास र सामाजिक मूल्य र मान्यतामा स्थापित गर्ने सोचका साथ तीन तहको सरकार स्थापना गरिएको भए पनि अझै पनि सिंहदरबार केन्द्रित सरकारको मानसिकता परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहालले बताए । देश सङ्घीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको उनले उल्लेख गरे ।

‘आमजनतालाई आर्थिक र राजनीतिक क्रियाकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ’, प्रधानमन्त्री दाहालले भने ।

नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा समावेश गरेर नेपालको संविधान निर्माण भएको उनले स्पष्ट पारे । नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा अझै स्पष्टताको अभाव रहेको उनले बताए ।

नेपालको आर्थिक, सामाजिक, दार्शनिक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै प्रधानमन्त्री दाहालले यस्तो सोच उचित नहुने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि नेपालकै नीति र सोचलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

निजी क्षेत्रलाई सम्मान गरेर अगाडि जान सरकार तयार रहेको भए पनि हाम्रो सोचमा परिवर्तन हुन नसकेको प्रधानमन्त्री दाहालले बताए । आफूले गरेको निरन्तर प्रयासका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको, वैदेशिक मुद्राको सञ्चितीमा वृद्धि हुँदै गएको, ब्याजदर क्रमशः ओरालो लाग्दै गएको तथ्य उनले पेस गरे ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर जाने विश्वास दिलाए । उनले निजी क्षेत्रको हित र चासोविपरीत गएर कुनै पनि ऐन तथा कानुन नबनाउने विश्वास दिलाए । त्यसअघि प्रधानमन्त्री दाहालले गल्फ प्रतियोगिताको उद्घाटन गरे ।

अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छुः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ’, अर्थमन्त्री डा महतले भने ।

उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताए । अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न उनले आग्रह गरे ।

अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए ।

ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पनि छलफल गरिरहेको बताए । उनले भने, ‘हामी धेरै निरास नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । केही समय धैर्य गरौँ’, अर्थमन्त्री डा महतले भने ।

उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताएका छन् । अर्थमन्त्री डा महतले आवश्यकता बाहिर सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर मात्र बाह्य सहयोग लिनुपर्ने धारणा राखे । उनले भने, ‘प्राथमिकता निर्धारण गरेर लिनुपर्छ । के लिने नलिने के माग्ने नमाग्ने यथेष्ठ कुरा हुनुपर्छ ।’

वैदेशिक सहयोगमा सञ्चालित आयोजनासमेत विभिन्न अवरोधका कारण समस्या खडा भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पूर्वतयारी पूरा गरेर मात्रै परियोजना अगाडि बढाउन सकिए कुनै पनि समस्या नहुने बताएका छन् ।

आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दशकमा नयाँ उत्साहका साथ हामी अगाडि बढ्न चाहेको भए पनि अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ । बजारमा माग बढाउनु जरुरी छ । इन्धनको मागमा वृद्धि गरेर जानुपर्छ । राज्य र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सकिन्छ ।’

उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनेसम्बन्धी संसद्मा विचाराधीन विधेयकप्रति गुनासो गरे । कार्यक्रममा अर्थशास्त्री अच्यूत वाग्लेले अर्थतन्त्रसँग जोडिएको विषय समेटिएको कार्यपत्र पेस गरे । यस्तै कार्यक्रममा अर्थतन्त्रसँग जोडिएका अन्य विभिन्न चार वटा कार्यपत्र पेस गरिएका छन् ।

प्रतिक्रिया