गुजरातले हरायो लखनऊलाई

नेपालखोज २०८० वैशाख १० गते ६:३४

काठमाडौं । साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३० औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई ७ रनले पराजित गरेको छ । जितका लागि १ सय ३६ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।

लखनऊका कप्तान लोकेश राहुलले ६१ बलमा ८ चौकासहित सर्वाधिक ६८ रन बनाए । लखनउले अन्तिम ६ ओभरमा २३ रन बनाउँदै ६ विकेट गुमाएपछि पराजयको सामना गरेको हो । लखनऊलाई जितका लागि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो ।

तीव्र गतिका बलर मोहित शर्माले चार विकेट लिदै चार रन मात्र दिएपछि गुजरात विजयी भएको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । गुजरातको जितमा कप्तान हार्दिक पान्ड्याले ५० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाए ।

ओपनर ऋद्धिमान शाह ३७ बलमा ६ चौकासहित ४७, शुभमन गिल डक, अभिनव मनोहर ३, विजय शंकर १० र डेविड मिलर ६ रनमा आउट भए । लखनऊका कुनाल पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

नविन उल हक र अमित मिश्राले समान एक विकेट लिए । गुजरात ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया