मंगलबार, जेठ १, २०८१

ए डिभिजनमा लिग ३ खेल : मच्छिन्द्रले च्यासल युथलाई हरायो

नेपालखोज २०७८ माघ २९ गते १९:४६
तस्बिर : एन्फा

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो युथ क्लबले पराजित गर्दा अर्को खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटो युथ क्लबलाई जित दिलाउन आकाश बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यससँगै सातदोबाटो बाटोले डेब्यु सिजन मै बलियो टोली मध्येको पुलिसमाथि अर्को सफलता निकालेको हो । यस अघि सातदोबाटोले थ्री स्टार र मनाङ मस्र्याङ्दी पराजित गर्दै जारी लिगमा सनसनी मच्याएको थियो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए जुन गोल तीन अंकका लागि पर्याप्त बन्यो ।

यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ । पुलिस १० औं स्थानमा रहेको छ ।

लिगअन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्ष स्थानको मच्छिन्द्रले रेलिगेशन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २-० को जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले एक/एक गोल गरे । मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो ।

तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मच्छिन्द्रले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो । सोही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाएका हुन । रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरेका हुन । त्यसका आठ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । तर दोस्रो हाफको खेलमा भने मच्छिन्द्रलाई झट्का लाग्यो । सुनिलको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्ष च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि थप उपचारका लागि मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ । अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको भन्दै विज्ञप्पती पनि जारी गरेको छ ।

जित पछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ । समान १० खेलमा ५ अंको जोडेको च्यासल तालिकाको पुछारमा छ ।

शनिबारै ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई उपाधि होडमा धक्का लागेको छ भने शीर्ष स्थानको मच्छिन्द्रलाई ६ अंकको अग्रता मिलेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा स्पष्ट जितका लागि आक्रामक खेल खेलेका दुबै टोलीले एक/एक गोल गर्दै अंक बाँडे । ६२ औं मिनेटमा वैकल्कि खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान अन्जन विष्टको क्रसमा दयानन्दले हेडर मार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर मनाङको अग्रता धेरै समय टिकेन । ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएपछि बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन । ल्याएका थिए ।

यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ । मनाङ लिगको दोस्रो स्थानमा यथावत रहँदा थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

लिगमा आइतबार दुई खेल हुनेछन् । दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन् । दिनको पहिलो खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपिएफ र संकटा क्लब बीच प्रतिस्पर्धा हुनेछन् ।

प्रतिक्रिया