मुम्बई विरुद्ध पन्जाबको जित

नेपालखोज २०८० वैशाख १० गते ६:४३

काठमाडौंं। पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औँ खेलमा मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ ।

जितका लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनायो । मुम्बईका युवा अलराउन्डर क्यामरन ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए पनि टिमको हार टार्न सकेनन् ।

सूर्यकुमार यादव २६ बलमा ७ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा १६ रन चाहिएको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले अन्तिम ओभरमा दुई रन खर्चेर २ विकेट लिएपछि पन्जाब विजयी भएको हो । 

त्यसअघि मुम्बईको घरेलु मैदान वानखडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । पन्जाबका कार्यवाहक कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्कासहित ५५ रनको योगदान दिए ।

मुम्बईले अब गुजरात टाइटन्ससँग मङ्गलवार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा खेल्नेछ । पन्जाब भने शुक्रवार मोहालीमा लखनउसँग भिड्नेछ ।

प्रतिक्रिया