कोलकाताविरुद्ध चेन्नईको जित

काठमाडाैं । चेन्नई सुपर किंग्सको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इन्डियन प्रिमियर लिग (आईपिएल) को ३३औं खेलमा कोलकाता नाइट राइडर्सलाई उसकै मैदानमा ४९ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा पुगेको हो । इडेन गार्डेन स्टेडियम कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।
चेन्नईका अजिंक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्कासहित ७१ रनको इनिङ खेले । शिवम दुबेले २१ बलमा २ चौका र ५ छक्कासहित ५० रनको योगदान पुर्याए । चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ७.३ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।
कोलकाताका जेसन रोयले २६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । रिंकु सिंह ३३ बलमा ३ चौका र ४ छक्कासहित ५३ रनमा अविजित रहे भने अन्य कुनैपनि खेलाडिले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका स्पिनर महेश थिक्सेनाले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।
यसैगरी तुषार देशपान्डेले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । चेन्नई ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता भने ७ खेलमा २ मा जित र ४ मा हारसहित आठौं स्थानमा झरेको छ ।

प्रतिक्रिया