एसीसी प्रिमियर कपमा आज नेपाल र साउदीबीचको खेल नभए के हुन्छ ?

काठमाडौं । एसीसी प्रिमियर कपमा साउदीसँगको खेल नभए पनि नेपाल सेमिफाइनलमा पुग्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीच बिहान ९ बजे खेल हुनुपर्ने हो । तर वर्षाको कारण खेल हुन सकेको छैन ।
दिउँसो २ः १५ सम्म खेल सुरु हुन नसकेमा स्थगित हुँदै दुबै टोलीले समान एक एक अंक बाँड्नेछन् । आज नेपाल र साउदीबीच खेल हुनसक्ने सम्भावना निकै कम छ । एक अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक हुनेछ । अन्तिम खेलमा नेपाल कतारसँग पराजित भएमा पनि सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।
आजको खेलमा साउदी र नेपालले अंक बाँड्दा समूह ए बाट कतार र मलेसिया बाहिरिनेछन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । आजको खेलमा अंक बाँड्दा साउदी र ओमानबीचको खेल क्वाटरफाइनल सरह हुनेछ ।
यस खेलमा नेपाल विजयी हुँदा पाँच अंक हुनेछ । अन्तिम खेलमा नेपाल पराजित भएमा पनि समूह ए को शीर्ष दुईमा रहनेछ । त्यसैले आजको खेल नहुँदा पनि नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियुमा खेल्नेछ ।
कतारले बाँकी दुबै खेल जितेमा ४ अंक मात्रै हुन्छ । कतारले नेपाल र मलेसियासँग खेल्न बाँकी छ । मलेसियाले अन्तिम खेलमा कतारलाई हराएपनि ४ अंक मात्रै हुन्छ । तर ओमानको ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक छ । अन्तिम खेलमा ओमानले साउदीलाई हराउँदा ६ अंक हुनेछ । मलेसियासँग अंक बाँड्दा ओमानको ५ अंक हुनेछ ।
आज अंक बाँड्दा साउदीको ३ अंक हुनेछ । अन्तिम खेलमा ओमानलाई हराउँदा ५ अंक हुन्छ । आज खेल स्थगित हुँदा ४ अंक भन्दा माथि नेपाल बाहेक साउदी र ओमान मध्य एक टोली मात्रै पुग्न सक्छन् । त्यसैले नेपाल सेमिफाइनलमा पुग्ने पक्का भएको हो ।
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । कतार २ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।
कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया