उठ्यो सिंहदरबारको फोहोर

काठमाडौं । सिंहदरबारको फोहोर आजदेखि उठ्न थालेको छ । काठमाडौं महानगरपालिकालाई शुक्रबार सर्वोच्च अदालतले तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि आजदेखि सिंहदरबारको फोहोर उठेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन निर्देशन दिएपछि २६ चैत देखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।
मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।
सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा महानगरपालिकाले फोहोर लैजान नदिने भएपछि सिंहदरबार भित्रै फोहोरको व्यवस्थापन समेत सुरु भएको थियो । फोहोर रोकिन थालेपछि कुहिने फोहोर मल र पशुआहार, पुनः प्रयोग गर्नुपर्ने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया