घरेलु मैदानमा पुछारको टिमसँग हार्यो हैदराबाद

नेपालखोज २०८० वैशाख १२ गते ५:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) – २०२३ को ३४ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गरेको छ ।

सुरुका खेलमा लगातार खराब प्रदर्शन गर्दै अंक तालिकाको पुछारमा रहेको दिल्लीको यो लगातार दोस्रो जित हो । यसैगरि हैदराबाद हाल सम्म खेलेका ७ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेर तालिकाको नवौं स्थानमा छ । दिल्ली ५ खेलमा २ मा जित र ५ मा हारसहित दसौं स्थानमा कायमै छ । अंकतालिकाको शीर्षमा चेन्नई छ जसले अहिलेसम्मका ७ खेलमध्ये ५ मा जित सहित १० अंक बटुलेको छ । समान ८ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा राजस्थान रोयल्स , तेस्रो स्थानमा लखनउ , चौथो स्थानमा गुजरात , पाँचौं स्थानमा बेंगलोर तथा छैटौं स्थानमा पन्जाब छन् ।

सोमबार राति अबेर सम्पन्न खेलमा जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन मात्र जोडन सक्यो । हैदराबादले जितका लागि अन्तिम ६ बलमा १३ रन बनाउनु पर्ने भए पनि तीव्र गतिका बलर मुकेश कुमारले ५ रन खर्चिएर कसिलो बलिङ गर्दै दिल्लीलाई पराजयबाट जोगाए ।

हैदराबादका ओपनर मयंक अग्रवालले ३९ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । उनी बाहेक अन्य कुनैपनि ब्याटसम्यानले राम्रो रन बनाउन सकेनन् ।

दिल्लीको जित सुनिश्चित गर्ने क्रममा अक्षर पटेलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने कुलदीप यादवले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । यसैगरि एनरिच नोर्कियाको खातामा ४ ओभरमा ३३ रन खर्चेर २ विकेट तथा ईशान्त शर्माको खातामा ३ ओभरमा १८ रन खर्चेर १ विकेट रह्यो ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको दिल्लीले आफ्नो खराब ब्याटिङ जारिराख्दै निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सकेको थियो । अक्षर पटेल र मनिष पाण्डेले ३४ – ३४ रन बनाए पनि अन्य कुनैपनि ब्याटसम्यानको प्रदर्शन उल्लेखनीय हुन सकेन ।

हैदराबादका लागि तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए भने वासिन्टन सुन्दरले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया