आइतबार, जेठ २६, २०८२

स्वर्णीमलाई बधाई दिदै गोविन्दले भने, ‘रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहिरहनेछ’

नेपालखोज २०८० वैशाख १२ गते ७:३०

काठमाडौं । तनहुँ १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले उपनिर्वाचनमा विजयी बनेका डा. स्वर्णीम वाग्लेलाई बधाई दिएका छन् ।

आफू भन्दा १४ हजार बढी मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई मतदाताको विकासे चाहना पुरा गर्न रचनात्मक र खबरदारीपूर्ण साथ रहने बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।’

के भने ?
प्रिय स्वर्णिमजी !
सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई!
चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो ।
र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।
तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।
मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।
यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ ।

प्रतिक्रिया