बुधबार, वैशाख १९, २०८१

आठ वर्ष अगाडिको त्रासदी सम्झँदा

सुनील उलक २०८० वैशाख १२ गते ८:४४

वैशाख १२ त्यो त्रासदीको दिन । नेपालीले बिर्सनै नसक्ने त्यो दिन । हुन त नेपालमा डरलाग्दो अत्यधिक क्षति भएका भूकम्प धेरै आए । तर पनि आज हामी मध्य धेरैले अनुभव गरेको भूकम्प नै वैशाख १२ को भूकम्प थियो । ८ वर्ष अगाडि २०७२ को वैशाख १२ मा गएको त्यो भूकम्पको घाउ कतिको मनमा अझै गहिरिएर बसेको होला ।

पोखरामा यस भूकम्पले खासै क्षति पुर्‍याएन । तर पोखरा देखि पूर्व भने यसले निकै क्षति पुर्‍याएको थियो । गोरखाको बारपाक भएर शनिवार दिनको ११ः५६ मा गएको ७.६ म्याग्निच्युडको यस भूकम्पले १८ जिल्लालाई धेरथोर असर पारेको थियो । वैशाख १२ को मूल भूकम्प र त्यस पछि गएका अन्य भूकम्प र कैयौँ पराकम्पनका कारण ८६५९ जनाको मृत्यु भएको थियो भने ३२७ बेपत्ता भए ।

मृत्यु भएकाहरू मध्य ४७७१ महिला तथा ३८८७ पुरुषहरूको मृत्यु भएको थियो । जसमा एकको लिङ्ग खुलेको थिएन । साथमा २१९५२ घाइते भएका थिए । घाइतेहरूमा १०१६३ महिला तथा १०९८७ पुरुष थिए । साथै नुवाकोट जिल्ला अस्पताल पूर्ण रूपमा क्षति पुग्दा अस्पताल भित्र घाइते भएका ८०२ को कुनै पहिचान राखिएन । त्यस्तै ५ लाख ७१७ घर ध्वस्त भए भने २ लाख ६९ हजार १९० घरहरूमा आंशिक क्षति पुगेको थियो ।

१५०० सम्पदाहरूका साथै ४२३१ सरकारी भवनमा समेत क्षति पुगेको थियो । यस भूकम्पले मानवीय क्षतिका साथ साथै ५४४११ विभिन्न पशुहरूको समेत मृत्यु भएको थियो । यसरी देशमा सङ्कट पर्दा जनताहरूमा त्रास र पिडाले छटपटाउँदा समेत घाइते तथा पीडितहरूका नाममा आएको राहतहरूमा समेत जालसाजी गर्ने तथा दुरुपयोग गर्नेहरूको पनि कमी रहेन । सङ्कटका बेला पीडितका नाममा उठाइने राहत तथा आर्थिक सङ्कलनमा समेत गलत नियत भएकाहरूले व्यक्तिगत लाभ लिन छोडेनन् ।

यस अगाडि गएका भूकम्पहरूमा २०४५ साल भदौ ५ गते बिहान ५ बजे गएको भूकम्पमा ७२१ जनाले ज्यान गुमाएका थिए । १९९० माघ २ गते दिनको २ बजे गएको भूकम्पले ८५१९ जनाको मृत्यु भएको थियो । बि.सं. १८९० भदौ १२ गते साँझ ६ बजे ठुलो भूकम्प गएको थियो । यसको लगत्तै सोही राती पौने एघार बजे र ११ बज्नै लाग्दा समेत ठुलो पराकम्पन जाँदा झन् ठुलो क्षति पुगेको थियो । त्यस भूकम्पले ४१४ जनाको मृत्यु तथा १७२ जना घाइते भएका थिए भने ४०४० घरमा क्षति पुगेको थियो । त्यस भूकम्पमा सबैभन्दा बढी भक्तपुरमा २०० जनाको मृत्यु, १०४ जना घाइते तथा २ हजार घर भत्किएको थियो ।

भक्तपुरका मन्दिरहरू तीन चौथाइ भत्किएका थिए । बि.सं. १२८० देखि २०७२ सम्मका ८०० वर्षका नेपालका करिब ५० ठुला भूकम्पमा बि.सं. १३१२ असार ५ तथा १५६२ जेठ ३१ को भूकम्पलाई भयावह मान्ने गरिन्छ । १३१२ मा ७.८ रेक्टर भनिएको छ भने १५६२ लाई ८.६ रेक्टरको भनिएको छ । १३१२ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको थियो । एक तिहाइ जनताको मृत्यु भएको थियो ।

चार महिनासम्म ठुला पराकम्पन गइरहँदा कतिपयले आफ्नो बस्ती नै छोडेर अन्यत्र बस्न गएका थिए । यस भूकम्पका कारण अन्नपूर्ण क्षेत्रमा आएको भूस्खलनले सेतीको पानी रोकिएर विशाल ताल बनेको थियो भने त्यो ताल केही समय पछि फुटेर आएको बाढीले पोखरा क्षेत्र पुरै हिलो गेग्रान तथा पानीले भरिएको थियो । त्यही विशाल पोखरी सुकेर बनेको भएर यसको नाम पोखरा रहन गएको थियो । बि.सं. १५६२ को भूकम्पको केन्द्रबिन्दु मुस्ताङको लोमाथाङ रहेको थियो ।

यस पटक भूकम्पमा पनि पोखरा क्षेत्र जलमग्न भएको प्रमाण पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको विशाल ढुङ्गाको अध्ययनले देखाएको छ । यो भूकम्प नेपालको पोखरा देखि पश्चिममा गएको अन्तिम भूकम्प पनि हो । पोखरा देखि गढवालसम्मको ८०० किमी क्षेत्र एउटै विशाल टेक्टोनिक प्लेट्समा रहेको छ । तसर्थ यस क्षेत्रमा जाने विशाल भूकम्पको असर भारतीय राजधानी दिल्लीसम्म पुग्ने गर्दछ । ५०० वर्ष देखि हुन नसकेको यस क्षेत्र महाभूकम्पको पर्खाइमा छ ।

वैज्ञानिकहरूका अनुमान अनुसार यस क्षेत्रमा जाने भूकम्प ९ रेक्टर भन्दा माथिको नै हुनेछ । कहिले जाने निश्चित नभए पनि यस क्षेत्रमा जान सक्ने आगामी भूकम्पले ठुलो जनधनको क्षति भने अवश्य गर्नेछ । हरेक ठुला भूकम्पमा सुरुका ३० सेकेन्ड सचेतना स्वरूपका हुने गर्दछ । पृथ्वीको भित्री सतह देखि धरातल सम्म कम्पन आइपुग्नु अगाडि नै सुरक्षित ठाउँमा पुगिसक्नुपर्ने हुन्छ । धरातल पछि आउने कम्पनले नै संरचनाहरू भत्काउने काम गर्दछ ।

प्रतिक्रिया