आइतबार, जेठ ६, २०८१

ओमानले साउदीलाई दियो ३६७ रनको लक्ष्य

नेपालखोज २०८० वैशाख १३ गते १३:२७

काठमाडौं । जारी एसीसी प्रिमियर कपको समुह चरणको आफ्नो अन्तिम खेलमा ओमानले साउदी अरेबियालाई ३६७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै ३६६ रनको योगफल बनाएको थियो ।

ओमानका लागि पहिलो विकेटका लागि कश्यप प्रजापति र जतिन्दर सिंहले १२५ रनको साझेदारी गरेका थिए । कश्यप प्रजापति ५३ बलमा छ चौका र दुई छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए ।

त्यस्तै दोस्रो विकेटका लागि जतिन्दर र शोयब खानले ५३ रनको साझेदारी गरेका थिए । ७९ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै जतिन्दर २७।४ ओभरमा पविलियन फर्केका थिए ।

ओमानले स्कोर २३८ हुँदा तेस्रो विकेट गुमायो । शोयब ३७।५ ओभरमा ६८ रन बनाउँदै आउट भए । खेलको ४५।६ ओभरमा ओमानले चौथो विकेटको रुपमा ५४ रन बनाएका कप्तान जिशन मक्सुदलाई गुमायो ।

त्यसपछि आएका ओमानका ब्याट्सम्यान नशिम खुसी एक रनमा आउट भए । सन्दिप गौड पनि दुई रन बनाउँदै ४७।५ ओभरमा पविलियन फर्किए ।

ओमानका मोहम्मद नदिम ७१ तथा आयान खान १२ रनमा अविजित रहे । साउदीका लागि अतिफ उर रहमानले तीन विकेट लिँदा अब्दुर वाहिदले दुई र अब्दुल वाहिइदले एक विकेट लिए ।

प्रतिक्रिया