नेपाली अर्थोडक्स चियामा ‘ट्रेसाविलिटी प्रणाली’ लागू

काठमाडौं । नेपाली अर्थोडक्स चियामा आजदेखि ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । उक्त प्रणाली प्रारम्भ भएपछि चिया उत्पादक कम्पनीको उत्पादन बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोडमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाबारे आवश्यक सूचना बारकोडबाट प्राप्त गर्ने हुँदा गुणस्तर, तौलमा ठगी हुन पाउँदैन ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो प्रणालीको शुभारम्भ गरे । सो अवसरमा मन्त्री भुसालले गत वर्ष नेपालले करिब १३ हजार मेट्रिक टन चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेको जानकारी दिँदै चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्न सकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्ने बताए ।
मन्त्री रिजालले नेपालमा करिब २० हजार हेक्टरमा अहिले चिया रोपन तथा करिब २६ हजार मेट्रिक टन चिया उत्पादन हुने गरेकामा खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यापारघाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरण हुने विचार व्यक्त गरे ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा आजदेखि तीन दिनसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज चिया कृषक पाण्डव तिमिल्सिना, उषा सुब्बा र दिलकुमार राईलाई चिया उद्यमी पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई रु एक लाख ५० हजार राशिसहित पुरस्कार वितरण गरिएको हो ।

प्रतिक्रिया