रक्सिको लतबाट छुटकारा पाउन मानव शरीरमा चिप प्रत्यारोपण

काठमाडौं । मदिराबाट छुटकारा पाउन चीनमा पहिलो पटक मानव शरीरमा चिप प्रत्यारोपण गरिएको छ । उक्त प्रत्यारोपण ५ मिनेटमा सप्पन्न भएको थियो ।
समाचार अनुसार चीनमा रक्सीको लतबाट पीडित एक ३६ वर्षीय पुरुषको शल्यक्रिया गरी शरीरमा चिप प्रत्यारोपण गरिएको हो । ती पुरुषको नाम लिउ हो ।
मिडिया रिपोर्ट अनुसार लिउ चीनका पहिलो व्यक्ति हुन् जसलाई यस्तो विशेष चिप प्रत्यारोपण उपचार दिइएको छ । यो शल्यक्रिया पछि अब लिउले रक्सीको तलतल महसुस गर्ने छैनन् ।
ब्रेन अस्पतालमा शल्यक्रिया
साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) को रिपोर्टले यो शल्यक्रियाका बारेमा जानकारी दिएको छ। रिपोर्ट अनुसार यो शल्यक्रिया १२ अप्रिलमा गरिएको थियो । यसको जानकारी हाल मात्र सार्वजनिक गरिएको हो । यो शल्यक्रिया हुनान राज्यको हाई-टेक ब्रेन अस्पतालमा गरिएको थियो।
विशेष कुरा के भने यो एउटा क्लिनिकल ट्रायल थियो । यसको नेतृत्व डाक्टर हाओ वेई ले गरेका थिए । हाओ संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल ब्युरोका उपाध्यक्ष हुन् र उनले आफ्नो टिमसँग मिलेर यो अल्कोहल क्रेभिङ चिप तयार पारेका हुन् ।
यो चिपले कसरी काम गर्नेछ ?
यो चिप रक्सीको लतबाट छुटकारा पाउन कसरी सहयोगी साबित हुन्छ भन्ने पनि प्रतिवेदनमा बताइएको छ । यो चिपलाई सानो शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण पछि चिपले नाल्ट्रेक्सोन नामक रसायन निकाल्छ ।
शरीरले यो रसायनलाई अवशोषित गर्नेछ र मस्तिष्कमा उपस्थित लक्षित रिसेप्टरहरूले यसलाई मस्तिष्कको कार्यमा पठाउनेछ । नाल्ट्रेक्सोन रसायन एउटा त्यस्तो पदार्थ हो जुन कुनै प्रकारको लागु पदार्थको लतबाट पीडित र सबै प्रयासको बाबजुद पनि यसलाई छोड्न असमर्थ व्यक्तिहरूको उपचारमा प्रयोग गरिन्छ।
एससीएमपीका अनुसार लिउले १५ वर्षदेखि मदिरा सेवन गर्दै आएका थिए । उनी एकै पटकमा एक लिटरभन्दा बढी रक्सी पिउँथे । त्यसपछि उनको व्यवहार निकै हिंसात्मक हुन्थ्यो ।
उनी रक्सीको लत यति हदसम्म फसेका थिए कि बिहानको खाजाअघि एक लिटर रक्सी पिउँथे भने ड्युटीमा हुँदा पनि मादक पदार्थ सेवन गर्थे । जसका कारण उनलाई धेरै जागिरबाट निकालिएको थियो ।
लिउले भनेका छन् ‘रक्सी नपिउँदा म असाध्यै विचलित हुन्थे र डिप्रेसनमा जान्थेँ । शल्यक्रियापछि लिउले भने, मलाई आशा छ कि अब म अन्य मानिसहरू जस्तै सामान्य जीवन जिउन सफल हुनेछु ।’
अमेरिकन जर्नल अफ फिजिएट्रीका अनुसार रक्सी पिउनुअघि नल्ट्रेक्सोनको एक खुराक लतबाट छुटकारा पाउन निकै प्रभावकारी साबित भएको छ। यसले रक्सी पिउने इच्छा कम गर्छ।

प्रतिक्रिया