आइतबार, जेठ २६, २०८२

सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपालखोज २०८० वैशाख १६ गते १५:००

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबिचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताए ।

अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा उहाँले नेपाल बहुभाषिक, बहु सांस्कृतिक र बहु जातीय मुलुक भएकाले सबैको सम्मान हुने गरी सामाजिक एकता अहिलेको आवश्यकता रहेको बताए ।

‘कहिले जातजातिका नाममा त कहिले भाषा भाषीका नाममा सामाजिक सद्भाव भड्काउने काम हुने गर्छ’, उनले भने, ‘सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन, यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, यसले सामाजिक एकतालाई भड्काउने कार्यप्रति सबै सचेत हुनु आवश्यक छ ।’

राजनीतिक स्थिरता कायम गर्नु, आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु तथा सामाजिक सद्भावलाई कायम राख्नु मुलुकको प्रमुख चुनौती भएको उल्लेख गर्दै पोखरेलले यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताए ।

शिक्षा र स्वास्थ्यमा सुधार नभएसम्म मुलुकको विकास तथा समृद्धि सम्भव नरहेको जिकिर गर्दै उनले यसमा सुधार आवश्यक रहेको बताए ।

‘मुलुकमा राजनीतिक परिवर्तन आए पनि शिक्षा र स्वास्थ्यमा परिवर्तन आएको अझै अनुभूति हुन सकेको छैन’, उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको विषय हो, यसमा सबैलाई अनुभूति हुने गरी सुधार हुन जरुरी छ ।’

कार्यक्रममा शिक्षा प्रेमी अम्बिका सिंह र ममता राजकर्णिकारको स्मृतिमा स्थापित अम्बिका–ममता स्मृति पुरस्कारबाट शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने चार जनालाई सम्मान गरियो ।

शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएबापत पूर्वप्रअ जीवछ मिश्र, पूर्व शिक्षिका मुनाबदन राज भण्डारी, शिक्षा प्रेमी तथा समाजसेवी रामनारायण कुर्मी र उर्मिला लामालाई नगदसहित वरिष्ठ उपाध्यक्ष पोखरेलले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रतिक्रिया