कुवेतले ओमानलाई दियो १३१ रनको सामान्य लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत तेस्रो स्थानका लागि भएको खेलमा कुवेतले ओमानलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
कुवेत नेपालसँग २ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा ८.३ ओभरमा ३७–६ को अवस्थामा पुगेको थियो । तर हङकङलाई ३० रनले हराउन कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।
कुवेतका ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । अन्तिम विकेटको रुपमा आउट भएका सैयद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
ओपनर रविजा सनदरुवान १२ र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए । यासिन पटेल १७, मित भावसार, शिराज खान र बिलाल ताहिरले खाता खोल्न सकेनन् ।
ओमानका स्पिनर जय ओडेराले ५.३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए । बिलाल खानले ७ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । आयन खान, जिशान मकसुद र जतिन्दर सिंहले समान एक विकेट लिए ।
सेमिफाइनलबाट बाहिरिएका यी दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका हुन् । यस खेलको विजेता टोलीले आगमी जुलाईमा जिम्बावेमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेका छन् ।
सेमिफाइनल खेलमा ओमान युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले पराजित हुँदै बाहिरिएको थियो । कुवेत भने नेपालसँगको खेल वर्षाको कारण रद्द भएपछि बाहिरिएको थियो ।

प्रतिक्रिया