कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे भेट

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटघाट गरेका छन् ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना कार्यवाहक राष्ट्रपतिलाई भेट्न उपराष्ट्रपतिको कार्यालय लैनचौर पुगेका थिए ।
कार्यवाहक राष्ट्रपति यादवसँग सभामुख र अध्यक्षले समसामयिक विषयमा छलफल गरेको बताइएको छ । मुख्यतः प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभाको सचिव नियुक्तिको विषयमा छलफल भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्तिका विषयमा छलफल गरेका हुन् ।
सभामुखको सिफारिसमा प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा राष्ट्रिय सभा सचिव राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आइतबार साँझ कम्बोडिया जाने कार्यक्रम रहेकाले त्यस पहिले नै सचिव नियुक्तिको सिफारिस हुन लागेको बताइएको छ ।
प्रतिक्रिया