लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीले कहिले लिदैछन् विश्वासको मत

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेश सभाको बैठक मंगलवार बिहान ११ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सोही दिन नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने छन् ।
शुक्रबार पदभार ग्रहणपछि देउखुरीमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने निर्णय गरेको थियो । तर प्रदेश सभा सचिवालयमा आइतबार बिहान मात्रै विश्वासको प्रस्ताव दर्ता भएकाले मंगलवार बैठक आह्वान गरिएको प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।
५३ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका चौधरी बिहिवारमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीसँगै माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विना विभागीय मन्त्री बनेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक प्रदेशसभा सदस्य गरी ५३ प्रदेशसभा सदस्यको समर्थन छ ।
यता, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरेका छन् ।
प्रतिक्रिया