आइतबार, जेठ ६, २०८१

यु–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

नेपालखोज २०८० वैशाख १८ गते २०:३९

सुदूरपश्चिम । धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन कोशी प्रदेश बनेको छ । स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो ।

प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र रु दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित रु एक लाख प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा सात विकेट क्षतिमा एक सय ७१ रन बनाएको थियो ।

कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए । यस्तै, सिंवाश बजगाईंले अविजित ३० रन, दीपु भुजेलले २१ रन र आशिक मगरले २० रन बनाए । बागमतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अथर्व पौडेलले दुई/दुई विकेट लिए । प्रतिउत्तरमा बागमती प्रदेशले २४ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा एक सय ३६ रन मात्रै बनाउन सकेको थियो । उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांश कोइराला र रोशन विकले २३/२३ रन बनाएका थिए ।

कोशीका लागि रबिन मण्डलले तीन विकेट, सौजन घिमिरे र प्रतीक पोखरेलले दुई/दुई विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित कोशी प्रदेशका एलिस मण्डलले रु दुई हजार प्राप्त गरे । उत्कृष्ट प्रदर्शन गरेका बागमती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए । उनले सर्वोकृष्ट खेलाडी भएबापत रु १५ हजार प्राप्त गरे ।

चार खेल खेलेका उनले एक सय छ बलमा एक सय ४६ रन बनाए । यस्तै, १९ ओभर बलिङ गरेका उनले एक मेडनसहित ९४ रन दिएर चार विकेट लिएका थिए । कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए । उनले नगद १० हजार प्राप्त गरे । तीन खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै एक मेडनसहित ७२ रन दिएर १० विकेट लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यु–१६ टोली तयार गर्न लागिएको जनाइएको छ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको ‘इस्ट जोन कप क्रिकेट प्रतियोगिता’लाई मध्यनजर गर्दै यो प्रतियोगिता गरिएको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । -rss

प्रतिक्रिया