आइतबार, जेठ ६, २०८१

लयमा नेपाली क्रिकेट

नेपालखोज २०८० वैशाख १९ गते ७:०१

काठमाडाैं । नेपाली क्रिकेट अहिले सही दिशातर्फ अघि बढिरहेको छ। पछिल्ला केही वर्षहरूमा विभिन्न कारणले गर्दा ओरालोतर्फ लागेको नेपाली क्रिकेटका लागि वर्ष २०७९ केही शुभ संकेतहरू लिएर आएको थियो । क्रिकेटमा राजनीति, गुटबन्दी र आर्थिक अपारदर्शीता जस्ता संवेदनशील आरोप लगाउँदै २०१६ को जूनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाएपछि अत्यन्तै कमजोर र सुस्त बन्न पुगेको नेपाली क्रिकेटमा गएको वर्षले प्राणवायु भर्ने काम गर्‍यो । वर्ष २०७९ मा नेपाल आइसीसीले लगाएको प्रतिबन्धबाट पूर्णरूपमा मुक्त मात्र भएन, नेपाली क्रिकेटले एकपछि अर्को सफलता समेत आत्मसात गर्दै गयो ।

वल्र्ड लिग डिभिजन २ मा नेपालले देखाएको अविश्वसनीय प्रदर्शनलाई नेपाली क्रिकेटको अहिलेको सफलतासँग जोडेर हेर्न सकिन्छ। एकपछि अर्को शानदार प्रदर्शन गर्दै आफ्नो एकदिवसीय मान्यता जोगाएको नेपालले यही प्रतियोगिता मार्फत एकदिवसीय विश्वकप क्रिकेटको छनौटमा समेत स्थान बनाउन सफल भयो ।

एक स्थितीमा विश्व लिग डिभिजन २ को शीर्ष पाँच टोलीभित्र पर्न समेत कठिन देखिएको नेपाली टोलीले प्रतियोगिताका अन्तिम १२ मध्ये ११ खेलमा जित हात पार्दै अंकतालिकाको शीर्ष तीनमा स्थान बनाउन सफल भयो । २०२३ को अक्टोवरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउनका लागि अब नेपालले जुन महिनामा जिम्बाब्वेमा सञ्चालन हुने २०२३ विश्वकप क्रिकेट क्वालिफायरमा दक्षिण अफ्रिका, वेस्टइन्डिज र श्रीलंका जस्ता टेस्ट खेल्ने राष्ट्रका साथै जिम्बाब्वे, आयरल्याण्ड र नेदरल्याण्डजस्ता अनुभवी टोलीसँग प्रतिश्पर्धा गर्नेछ ।

वर्ष २०७९ कै अन्त्यमा नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ८ वर्षपछि नेपाललाई युवा विश्वकपको मञ्चमा पुनरागमन गराउन समेत सफल भएको छ। युवा विश्वकप छनौटको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई नाटकीय ढंगले ७ रनले हराउँदै नेपालले सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यु–१९ विश्वकपमा छनौट चरण पार गरेर स्थान बनाउने पहिलो टोली बन्यो ।

२०७९ को माघ महिनामा भारतका पूर्वखेलाडी मोन्टी देसाइँ नेपालको प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन आएको छन् । खेलाडीहरूको छनौटदेखि उनीहरूको व्यक्तिगत प्रदर्शनमा समेत व्यापक सुधार देखिएको छ । नेपाली खेलाडीहरूमा जीतको भोक देख्न पाइएको छ, एक हिसाबले भन्ने हो भने मोन्टीको आगमनपछि नेपालले हार्न बिर्सिएको छ । पछिल्लो समय नेपालमा क्रिकेटका गतिविधि बढ्दै जानु, यहाँ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूको आयोजना हुनु, क्रिकेट पूर्वाधारको विकासमा विभिन्न कदमहरू अघि बढ्नुले नेपाली क्रिकेट अहिले सही दिशातर्फ बढिरहेको कुराको संकेत गर्छ ।

नेपाल एशिया कपबाट एक कदम टाढा

नेपाली क्रिकेटमा सफलताको क्रमलाई २०८० सालमा समेत निरन्तरता दिँदै अहिले नेपाली टोली एशिया कप क्रिकेट प्रतियोगितामा छनौट हुनबाट मात्र एक खुड्किला टाढा छ। काठमाडौंमा जारी २०२३ एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्ने टोलीले एशियाका शीर्ष छ टोलीबिच प्रतिश्पर्धा हुने एशिया कपमा सहभागी हुने अवसर पाउनेछ । यसै वर्षको सेप्टेम्बर महिनामा पाकिस्तानले आयोजना गर्ने एशिया कपमा शीर्ष वरियताक्रमका आधारमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भइसकेका छन् । अन्तिम एक स्थानका लागि एसियन क्रिकेट काउन्सिल ९एसिसि० प्रथम पटक यो संरचनाको प्रतियोगिता आयोजना गरेको हो ।

श्रोत ins

प्रतिक्रिया