आइतबार, जेठ ६, २०८१

ए डिभिजन लिगको शीर्षस्थानको जावलाखेल पराजित

नेपालखोज २०८० वैशाख १९ गते २०:५८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लब पराजित भएको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले जावलाखेललाई २–१ ले पराजित गरेको हो ।

पुलिसको जितमा मोसेस र एहमद हिजाजीले गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए ।

खेलको ३५औं मिनेटमा मोसेसको गोलबाट पुलिसले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । अजित भण्डारीको फ्रिकिकमा मोसेसले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

८८औं मिनेटमा एहमद हिजाजीले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । मोहम्मद आशिकको चलाखीपूर्ण पासमा हिजाजीले बललाई नियन्त्रणमा लिदै गोलरक्षक अनिश देउला अघि बढेको अवस्थामा बल जित्दै गोल गर्न सफल भए ।

त्यसको एक मिनेटपछि नै विपिन कँडेलले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विपिनले गरेको क्रसलाई हिसुव थपलियाले फ्लिक गर्ने प्रयास गदौ पुलिसका डिफेन्डर र गोलरक्षक झुक्किन पुगेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस विजयी हुन सफल भयो । यस जितसँगै पुलिसले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । पुलिस पहिलो राउन्डमा ६–१ ले पराजित भएको थियो ।

यस जितसँगै पुछारमा रहेको पुलिस १४ खेलबाट १५ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित जावलाखेलले आफ्नो शीर्षतालाई बढाउन सकेन । शीर्षस्थानमा रहेको जावलाखेलको १४ खेलबाट २४ अंक छ ।

प्रतिक्रिया