आईपीएल : शिर्ष टिमलाई पुछारको टिमले हरायाे

काठमाडाैं । पुछारको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ४४औं खेलमा गुजरात टाइटन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । जितका लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन मात्र बनाउन सक्यो ।
गुजरातका कप्तान हार्दिक पान्ड्या ५३ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहे । गुजरातलाई जितकन लागि अन्तिम १२ बलमा ३३ रन चाहिँएको थियो भने ९ बलमा जितको लागि ३० रन चाहिँएको थियो । राहुल टेवाटियाले अन्तिम तीन बलमा लगातार तीन छक्का हानेपछि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो । ईशान्त शर्माले पहिलो बल हार्दिक पान्ड्यालाई दुई रन दिए ।
लगत्तै अर्को बलमा एक रन दिए । तेस्रो बल डट राख्दा चौथो बलमा टेवाटिया राइली रोसोउबाट क्याच आउट भए । पाँचौं बलमा राशिद खानले दुई रन बटुलेका थिए । अन्तिम बलमा जितका लागि ७ रन चाहिँएको थियो जसमा एक रन मात्र बन्न सक्यो । दिल्लीका ईशान्त शर्माले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।यसैगरि खलिल अहमदले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए ।
कुलदीप यादवले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दिल्लीको जितमा अमन खानले ४४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । उनी बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो गर्न सकेनन् ।
गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएपनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सकेनन् । मोहित शर्माले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दिल्ली अहिले ९ खेलमध्ये ३ मा जित र ६ मा हारसहित पुछारमा छ । गुजरात ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया