एसिया कप नभए नेपाल सम्मिलित अर्को प्रतियोगिता हुनसक्छ ?

एजेन्सी । नेपाल एसिया कप- २०२३ खेल्ने छैटौँ टोली भएको छ । बाँकी पाँच देश यसअघि नै एसिया कप – २०२३ का लागि छनोट भैसकेका छन् । ती पाँच देशमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश तथा अफगानिस्तान छन् । यस पटक एसिया कप सेप्टेम्बर २ मा सुरु हुने भएको छ ।
१३ दिनसम्म चल्ने ६ देशको यो प्रतियोगितामा फाइनलसहित कुल १३ खेल हुनेछन् । यो प्रतियोगिताको समूह ए मा नेपाल सहित भारत र पाकिस्तान छन् भने श्रीलङ्का, बङ्गलादेश तथा अफगानिस्तान समूह बी मा छन् । पहिलो एसिया कप सन् १९८४ मा आयोजना भएको थियो । एसिया कपको ३९ वर्षको इतिहासमा भारत सबैभन्दा सफल टिम साबित हुँदै आएको छ । एसिया कप अहिले पाकिस्तानले आयोजना गरिरहेको छ भने एसिया कपका खेलहरू कहाँ खेलाइन्छ भन्ने कुराको टुङ्गो लागेको छैन ।
कसले कति पटक जीते एसिया कप
भारत ७ जित : १९८४ , १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ तथा २०१८ ।
श्रीलङ्का ६ जित : १९८६, १९९७, २००४, २००८, २०१४ तथा २०२२ ।
पाकिस्तान २ जीत: २००० तथा २०१२ ।
श्रीलङ्का एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । गत वर्ष अगस्टमा युएईमा २० ओभरको एसिया कप खेलिएको थियो । यसको आयोजकत्व श्रीलङ्कालाई हस्तान्तरण गरिएको थियो तर, श्रीलङ्काको आर्थिक तथा राजनीतिक कठिनाइका कारण यसलाई युएईमा सारिएको थियो।
आयोजक श्रीलङ्काले फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । समूह चरणका दुवै खेल जितेर सुपर–४ मा पुगे पनि पाकिस्तान र श्रीलङ्कासँग पराजित भएपछि भारत भने फाइनलमा पनि पुग्न सकेन । यता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आ–आफ्नो अडानमा कायम रहे पछि एसिया कप हुने-नहुने अन्योल बढेर गएको छ ।
भारतको क्रिकेट बोर्ड (बीसीसीआई) ले आफ्ना खेलाडीको सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान अनिच्छा जाहेर गरिरहेको छ । भारतको क्रिकेट बोर्ड यो प्रतियोगिता अन्य देशमा सार्नुपर्ने पक्षमा छ भने पाकिस्तानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई) र श्रीलङ्का पनि यो प्रतियोगिता आयोजना गर्न इच्छुक छन् ।
यता पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्नुबाहेक अन्य विकल्प नभएको बताएको छ । बीसीसीआई भने एसिया कप रद्द हुने कुराका लागि तयार देखिएको छ ।
भारतीय क्रिकेट बोर्डले एसिया कप नभए उक्त समयमा पाँच राष्ट्रको नयाँ प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको बताइन्छ । जुन प्रतियोगितामा पाकिस्तान बाहेक एसिया कपमा छनोट भएका नेपाल सहित बाँकी ५ देशले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया