स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

जलेश्वर । मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहीन अवस्थामा छ ।
करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा खरिद गरिएका भेन्टिलेटर, मोनिटर, इको तथा सघन उपचारका उपकरण प्रयोगविहीन अवस्थामा रहँदा पनि सञ्चालनका लागि कुनै पहल नभएको नगरवासीको गुनासो छ ।
आव २०७७/०७८ मा कोरोना नियन्त्रणका लागि पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इको र सघन उपचारका उपकरण खरिद गरी ५० श्ययाकोे कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरिएको थियो ।
कोरोना नियन्त्रणका लागि विगत तीन वर्षअघि विभिन्न शीर्षकमा गरी १० करोडभन्दा बढी खर्च गरिए पनि महामारीका बेलामा भेन्टिलेटर र सघन उपचार कक्ष सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर अस्पतालले ती उपकरण प्रयोगमा ल्याउन सकेको थिएन ।
तीन वर्षदेखि प्रयोगविहीन बनेका उपकरणको ग्यारेन्टी र वारेन्टी पनि उपकरण थन्काइएका अवस्थामा नै सकिसकेको छ । जलेश्वर नगरपालिका–२ का लोसपा नेपाल नेता शिवचन्द्र चौधरीले ‘रेफर’ अस्पतालको रूपमा परिचित यस अस्पताल अहिले प्रादेशिक अस्पतालमा परिणत भइसक्दा पनि सरोकार बाला निकायको बेवास्ता र लापर्बाहीका कारण यसको सेवा स्तर झन् खस्किँदै गइरहेको आरोप लगाए ।
स्थानीय नेकपा(माओवादी)का नेता मनोज साहले प्रदेश स्तरको यस अस्पतालमा सरकारले तोकेको निःशुल्क औषधिसमेत रोगीले नपाइरहेको गुनासो गरे भने अर्का युवा नेता नवीन पाण्डेले पनि नेपाल सरकारले सरकारी अस्पतालमा ७० किसिमको औषधि रोगीका लागि निःशुल्क गरे पनि औषधि व्यवसायी र चिकित्सकको कमिसनका कारण अस्पतालमा रहेको सामान्य औषधिसमेत रोगीले नपाइरहेको आरोप लगाए ।
उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषा भारद्वाजले यत्रो ठुलो अस्पतालमा आफू एक्ली स्थायी चिकित्सक रहेको र सबै क्षेत्र एक्लैले हेर्न नभ्याउँदा अस्थायी र करारको कर्मचारीबाट अस्पताल चलाइरहेको बताए ।
उनले अस्पतालमा बाहिर चर्चा गरेजस्तो औषधि अभाव नरहेको र उपलब्ध औषधि बिरामीलाई वितरण गर्न कुनै कन्जुस्याइँ नभएको जिकिर गरे ।
मधेस प्रदेशकी सामाजिक विकास मन्त्री सुरिता साहले दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन नसकिएकामा अब चाँडै ती उपकरण सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति र प्राविधिक पठाएर व्यवस्थितरुपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया