आइतबार, वैशाख २८, २०८२

विज्ञान प्रविधि सुहाउँदो शिक्षा प्रणाली जरुरी : मन्त्री यादव

नेपालखोज २०८० वैशाख २१ गते २१:३१

जनकपुरधाम । मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले विज्ञान प्रविधि सुहाउँदो शिक्षा प्रणाली जरुरी रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) मधेस प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको साइबर सुरक्षासम्बन्धी गोष्ठीमा उहाँले सूचना प्रविधिको प्रयोग गरी शिक्षा प्रणाली र सिकाइ पद्धतिमा सुधार ल्याउन जरुरी रहेको बताए।

कोरोना महामारीको समयमा सूचना प्रविधिको प्रयोगले शैक्षिक, राजनीतिक तथा दैनिक जीवनलाई सहज बनाउन खेलेको भूमिकाबाट पनि प्रविधिको महत्त्वका बारेमा प्रष्ट भएको बताउँदै मन्त्री यादवले प्रविधिको सही र व्यवस्थित प्रयोग गरी सकारात्मक लाभ लिनुपर्ने आवश्यकता औँल्याए । यसमा सहजीकरण र सहयोगका लागि क्यानजस्ता संस्थाले पनि योगदान गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले हरेकको हात–हातमा मोबाइल छ तर त्यसको सही प्रयोगभन्दा बढी दुरुपयोग भएको अवस्था छ । सूचना प्रविधिको प्रयोगमार्फत हरेक क्षेत्रमा फड्को मार्न सकिन्छ तर हामी विसं २०२८ कै शिक्षा ऐनका आधारमा अगाडि बढिरहेका छौँ । यस कारण प्रविधिलाई शिक्षा, स्वास्थ्य र अरु क्षेत्रमा सहीरूपमा प्रयोग गर्न सकेमा साँच्चै हामी लाभान्वित हुनसक्छौँ । यसबारेमा गम्भीरतापूर्वक सोच्ने बेला भएको छ’, मन्त्री यादवले भने।

उनले मधेस प्रदेश सरकारले प्रदेशलाई एक वर्षभित्रमा पूर्ण साक्षर बनाउने गरी काम गर्न चाहेको र त्यसमा सूचना प्रविधिको उपयोगिता बढाउन आवश्यक सुझाव दिन विज्ञहरूसँग आग्रह गरे । क्यानका केन्द्रीय अध्यक्ष रञ्जित पोद्दारले विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना र भएका प्रयोगशालाको प्रभावकारी प्रयोगमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

त्यसैगरी सूचना प्रविधिको क्षेत्रमा चुनौतीका रूपमा रहेको साइबर सुरक्षाका लागि सरकारसँग आवश्यक सहकार्य गर्न क्यान तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया