आइतबार, जेठ ६, २०८१

पोखरा स्पोर्टस् अवार्ड आज

नेपालखोज २०८० वैशाख २३ गते ७:११

काठमाडाैं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड आज वैशाख २३ गते पोखरा सभागृह हलमा सम्पन्न हुँदै छ । यो कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सात विधामा अवार्ड प्रदान गरिनेछ ।

यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडी विधाको मनोनयन पहिले नै सार्वजनिक भैसकेको छ जस अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) तथा टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर (बागलुङ), फुटबलकी सावित्रा भण्डारी (लमजुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बागलुङ) रहेका छन् ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी (बागलुङ), फुटबलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (बागलुङ) रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ (स्याङ्जा), लनटेनिसका नीरज थापा (कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार (कास्की) छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद ३५ हजार नगदका साथमा ट्रफी पाउने छन् ।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मरासिनीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद ३५ हजारका साथमा ट्रफी पाउने छन् । यो कार्यक्रमको थप आकर्षणका रूपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति रहने मञ्चले जनाएको छ ।

यसैगरी भेटियो सान्नानी सोल्टी बजारमा गीतबाट चर्चामा आएका लोकदोहोरी गायक निश्चल दबाडीको गायन , हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य , डेमोस्ट्रेसन आदि पनि कार्यक्रमको आकर्षक रहनेछन् । विसं २०५७ मा खेलकुद पत्रकार मञ्च कास्की स्थापना भएको हो । देश सङ्घीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाका रूपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार यो मञ्चमा आबद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्डको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया