आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिगका दुई खेल बराबरीमा रोकियो

नेपालखोज २०८० वैशाख २३ गते २१:३६

काठमाडौं । आज सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतका दुई खेल बराबरीमा टुंगिएको छ । सातदोबाटो युथ क्लब र मनाङ–मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

२६औं मिनेटमा साहिदजमोल डाभ्लातजोनोभको फ्रिकिक थोरै अकासियो । ३७औं मिनेटमा विलियम ओपोकु एसेइडुको प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले सहजै बचाए ।

४३औं मिनेटमा कोफी टिमोथी कोउडुले गोल गरेपनि रेफ्रीले अफसनइड रहेको भन्दै गोललाई मान्यता पाएन । ६८औं मिनेटमा कमल थापाले गोल गर्ने सुवर्ण मौका खेर फाल्दा मनाङ अग्रता लिनबाट चुक्यो ।

यस बराबरीसँगै सातदोबाटो १५ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा रहेको छ । मनाङ १५ खेलबाटै १९ अंक जोडेर आठौं स्थानमा छ ।

त्यस्तै, थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सले बल पोसेसनमा पकड बनाएपनि तुलनात्मक रुपमा थ्री स्टारले बढी आक्रमण बुनेपनि फिनिस गर्न नसक्दा खेल बराबरीमा सकियो ।

नवौं मिनेटमा विराज महर्जनको क्रसमा महेन्द्र कार्कीको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २३औं मिनेटमा महेन्द्र कार्कीले दोस्रो बार च्याप्दै गरेको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राजाबाबु थापाले डाइभ दिदै बचाए ।

४१औं मिनेटमा लक्ष्मण रुचालको झन्डै ३५ यार्ड टाढाको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक मोहम्मद ताहले पञ्च गर्दै बचाए । ६१औं मिनेटमा कप्तान विक्रम लामाको डि बक्सभित्रको प्रहार फितलो बन्दा गोलरक्षक राजाबाबुले सहजै नियन्त्रणमा लिए ।

७०औं मिनेटमा आदित्य शाक्यले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बारबरीमा टुंगियो । यि दुई टोलीले पहिलो राउन्डमा पनि ३–३ गोलको बराबरी खेलेको थियो ।

यस बराबरीसँगै थ्री स्टार तेस्रो स्थानमा यथावत छ । दोस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गरेपनि थ्री स्टार हेड टु हेडमा पछि छ । थ्री स्टारको १५ खेलबाट २४ अंक छ । जावलाखेलको पनि समान खेलबाटै २४ अंक छ । फ्रेन्ड्सको १५ खेलबाट १६ अंक छ ।

प्रतिक्रिया