आइतबार, जेठ ६, २०८१

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार खरेललाई

नेपालखोज २०८० वैशाख २४ गते ९:३९

पोखरा । गीतकार किरण खरेल ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित भएका छन् । शनिवार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सो पुरस्कार अर्पण गरेका हुन् ।

नेपाली राष्ट्र गानका सङ्गीतकार अम्बर गुरुङको योगदान चिरस्थायी बनाउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले उनको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको हो ।

संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले हाल १८ लाख अक्षयकोषमा जम्मा भइसकेको बताए । नेपाली सङ्गीत क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार भएको आयोजकको दाबी छ ।

चलचित्र ‘माइतीघर’को यो हो मेरो प्राणभन्दा प्यारो गीतका रचयिता किरणले सयभन्दा बढी चलचित्रमा गीत लेखिसकेका छन् । १९९५ सालमा काभ्रेपलान्चोकको खरेल थोकमा जन्मिएका उनले १९ वर्षको छँदा २०१४ सालमा ‘ए दूरका सितारा’ गीत रेकर्ड गराएका उनका ४ गीतिसंग्रह प्रकाशित छन् । पोखरामा शनिवार नै ‘ए दूरका सितारा’ सङ्ग्रह विमोचन भयो ।

जिन्दगीलाई जित होइन हारले स्वागत गरी, नमान लाज यसरी, वनमा फुल्यो फूलै फूल, लुकुँलुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा, कसले चोर्यो मेरो मन, मन्दिरमा छ कि मूर्तिमा माया, हिमालको काखमा छ सानो मेरो गाउँलगायत गीत उनैले लेखेका हुन् ।

पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेलले नेपाली गीतसङ्गीतका धरोहर अम्बर गुरुङको सुकिलो योगदानको चहकिलो सम्मान भएको बताए । पहिलो पटक नै पुरस्कारका लागि आफूलाई योग्य ठानेकामा आभार व्यक्त गर्दै उनले यो अविस्मरणीय र गौरवको क्षण भएको बताए ।

साहित्यकार सरुभक्तले किरणले परम्परागत गीति लेखनको मानक भत्काएको बताए । गीतमा आधुनिकताको प्रयोगको सुरुवात उनैबाट सुरु भएको सरुभक्तको भनाइ थियो ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अम्बर गुरुङलाई गीतसङ्गीतको ‘सगरमाथा’ भनी चिनाए । कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, अम्बर गुरुङका सुपुत्र राजु गुरुङ, पोयुसाप सचिव डा. चैतन्य अधिकारीले अम्बर गुरुङको नाममा स्थापित पुरस्कार किरण खरेललाई अर्पण गर्दा पुरस्कार आफैँमा पुरस्कृत भएको उल्लेख गरे ।

२०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार नेपाली साहित्य, सङ्गीत र कला क्षेत्रमा क्रियाशील छ ।

प्रतिक्रिया