आइतबार, जेठ ६, २०८१

रेलिगेसनबाट बच्न तीन क्लबको प्रयास

नेपालखोज २०८० वैशाख २५ गते १०:४८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हुने दुई खेलमा अंक तालिकाको पुछारमा रहेका तीन क्लब रेलिगेसनमा पर्नबाट जोगिने कोशिसमा हुनेछन् । क्षेत्र दुवै खेल दिउँसो ३ बजे हुनेछ ।

च्यासल मैदानमा फ्रेन्ड्स क्लब र फुटबल क्लब खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा खुमलटारले खेल १-० ले जितेको थियो । त्यसैले पनि फ्रेन्ड्स यस खेलमा जित हासिल गर्दै हेड टु हेडमा पनि अघि रहन चाहन्छ । १७ अंकसाथ १२ औं स्थानमा रहेको खुमलटारले जित हासिल गरे अंक तालिकाको माथिल्लो भागमा उक्लने अवसर छ । यता १६ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको फ्रेन्ड्स रेलिगेसन क्षेत्र छोड्न चाहन्छ । फ्रेन्ड्सको जितले खुमलटार तल खस्नेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा मनाङ मर्स्याङ्दी क्लबले पुछारको नेपाल पुलिस क्लबसँग खेल्नेछ । लगातार ६ हारपछि जित हासिल गरेको मनाङले पछिल्लो खेलमा बराबरी खेलेको थियो । प्रशिक्षक विष्णु गुरुङको आगमनसँगै टोली आज पहिलो जितको खोजीमा हुनेछ । तर पुलिसलाई हराउन सहज भने देखिदैन ।

विदेशी खेलाडीको आगमनपछि पुलिस बलियो देखिएको छ । पछिल्लो ५ मध्य १ मात्र खेल हारेको पुलिसले ५ विदेशी खेलाडी अनुबन्धन गरिसकेको छ । मनाङलाई भने मुख्य डिफेन्डर अजिज साइदको चोटले समस्या दिन सक्छ । उनको विकल्पमा रहेका जीवन गुरुङ पनि तीन पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् । मनाङका विदेशी फरवार्ड कोफी कोउडु पनि तीन पहेंलो कार्डकै कारण अनुपस्थित रहनेछन् ।

पहिलो लेगमा पुलिसले मनाङलाई एन्फा कम्प्लेक्समै १-० ले पराजित गरेको थियो । मनाङ १९ अंक जोड्दै आठौं स्थानमा छ भने पुलिस १५ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया