शुक्रबार, वैशाख १४, २०८१

२० रुपैयाँदेखि मदन पुरस्कारसम्म !

नेपालखोज २०७९ भदौ ११ गते १०:४७

रामलाल जोशी सुदूरपश्चिमको विषयवस्तुलाई ऐनाजस्तै गरी अक्षरमा उतार्न सक्ने आख्यानकार हुन् । समाजमा रहेका विद्यमान विकृति, विसंगतिलाई ऐनाजस्तै उतारेर अक्षरहरुका बान्की सजाएका जोशीले ऐना कृतिबाट २०७२ सालमा मदन पुरस्कारसमेत प्राप्त गरे ।
उनको अहिलेसम्म दुईवटा कृति प्रकाशित भएको छ । ऐना र सखी । बाआमा भने यही भदौ १७ गते विमोचननको तयारीमा छ । उनी मदन पुरस्कार प्राप्तपछि लेखेरै जीवन चलाइरहेका छन् । २०३१ सालमा डोटीको दक्षिण भेक कानचौरमा जन्मिएका आख्यानकार रामलाल जोशीसँग नेपालखोजका लागि शुभद्रा ढकालले गरेको कुराकानी :

ऐना उपन्यासले मदन पुरस्कार पाउँदा कस्तो अनुभूति भयो ?
मैले कहिल्यै मदन पुरस्कारको आशा, अपेक्षा राखेको थिइनँ । एक्कासि पाउँदा सप्राइजजस्तै भएँ । अपत्यारिलो, अविश्वास, खुसी र आश्चर्यको संवेगबाट गुज्रिएको थिएँ । मेरा लागि अविश्वासनीय, अपपत्यारिलो खुसी थियो ।

मदन पुरस्कार पाएको खबर पहिलोपटक कोबाट थाहा पाउनुभयो ?
रामबहादुर रावल भन्ने एकजना पत्रकार हुनुहुन्छ उहाँले मलाई पहिलोपटक खबर सुनाउनुभयो । मदन पुरस्कार गुठीबाट पनि खबर आएको थिएन । सञ्चारमाध्यममा पनि प्रकाशन भएको थिएन । पहिलोपटक उहाँबाटै सुनेँ । उहाँले फोन गरेको पाँच मिनेटपछि लगातार फोन आउन थाल्यो । मैले दुईवटा नम्बर बोक्थेँ दु्ईवटा नम्बरमा लगातार दिनभरि रातभरि घण्टी बजिरह्यो फोन गरेर बधाइ दिनेको ओइरो लाग्यो । सम्हाली नसक्नुकोे क्षण थियो ।

आख्यानकार रामलाल जोशीको विद्यार्थी जीवन कस्तो थियो ?
मैले ११ वर्षको उमेरबाट क, ख सुरु गरेँ । हाम्रो गाउँमा स्कुल थिएन । हिँडेर जानुपर्ने या डेरा गरेर बस्नुपर्ने बाध्यता थियो । दुइटा गाउँवारिपरि खोला थियो, बीचमा हाम्रो गाउँ छ । विद्यालय नहुँदा पढ्न पाइएन । पछि हाम्रो गाउँमा स्कुलको स्वीकृति आएपछि म र मेरो संगतका साथीहरू जुन दश, एघार, बाह्र वर्षको उमेरका थियौँ । कसैले त १५ वर्षको उमेरमा पनि विद्यालय जान सुरु गरेका थिए ।

विद्यालय भर्ना हुनुअघि के गर्नुहुन्थ्यो ?
त्यसबीचमा मैले केही पनि गरिनँ । सात वर्षसम्म बुबाले काखमा राखेर क, ख सुरु गराउनुभयो । म सात वर्षको हुँदा उहाँको मृत्यु भयो । त्यसपछि मेरो गोठाले जीवन सुरु भयो । गोठालो जाने घरमा खेल्ने, दौडने, चराका गुँड खोज्ने, चराका गुँड भत्काउने, चरा धपाउने गाईभैंसी चराउने त्यसैगरी बित्यो ।
अनि एघार वर्षमा स्कुलको स्वीकृति भइसकेपछि हामी हाम्रो उमेर (दश–एघार वर्ष) का सबै साथीहरू मिलेर हामीले आफैँँ ढुंगा बोक्यौँ, काठ पनि बोक्यौँ र आफ्नै गाउँमा स्कुल बनायौँ । त्यही स्कुल निर्र्माण गरेर आफ्नो कोठा आफैँले बनाएर विद्यार्थी जीवनको सुरुवात भयो । ११ वर्षको उमेरमा क, ख बाट सुरु गरेर १५ वर्षको उमेरमा ५ क्लास सकेर १६ वर्षमा म कैलाली झरेँ । त्यहाँ थारूहरूको घरमा डेरा गरेर उनीहरूका बच्चालाई पढाएर २१ वर्षको उमेरमा एसएलसी पास गरेँ । कैलाली बहुमुखी क्यापसबाट स्नातक पास गरेँ । त्यसपछि कीर्तिपुरबाट एमए गरें । बीएड पनि सकें ।

साहित्यिक यात्राको सुरुवात कसरी भयो ?
बुबाको निधन हुँदा म सात वर्षको थिएँ । भाइ तीन वर्षको र बहिनी आमाको पेटमा थिई । मेरो बुबाको धार्मिक स्वभावको हुनुहुन्थ्यो, कवि पनि हुनुहुँदो रैछ, पछि थाहा पाएँ । म चार कक्षामा पढ्दा सामाजिक शिक्षा पढाइ हुन्थ्यो । एकदिन घरमा तीनवटा बाकस देखेँ । तीनवटै बाकस किताबले भरिएका थिए । रामायण, महाभारत, कृष्ण चरित्रदेखि लिएर स्वस्थानीलगायत सबै किताबका साथै पात्रो पनि थियो । ती किताबमध्ये एउटा कालो रङको राम्रो गाता भएको डायरी भेटें ।
मलाई अरू किताबमा त त्यति ध्यान भएन त्यो डायरीको भित्री पाना हेरेँ पाना खाली थियो यो मलाई लेख्न चाहिन्छ भनेर डायरी लिएँँ ।
डायरीमा कविताहरू थिए । पढ्दै जाँदा दुईपटक पढेपछि लय हाल्न सक्ने भएँ । शीर्षक थियो ‘विद्याकी रानी’ त्यो कविता दुई–तीनपटक पढ्न थालेपछि मज्जासँग लय हालेर पढ्न सक्ने भएँ । त्यसको पछाडि अन्य कविताहरू पनि थिए त्यसमा बम्बई सहरको वर्णन गरिएको थियो । त्यतिबेला पश्चिमतिरको मान्छेहरू इन्डिया जाने चलन थियो । मेरो बुबा पनि धार्मिक स्वभावको हुनुहुन्थ्यो काशी, गया हरिद्वार सबैतिर घुमफिर गरेर बम्बई पुग्नुभएछ । बम्बईको झिलिमिली चमत्कार, समुद्र ठूलाठूला महल देखेर उहाँले बम्बईको वर्र्णन गर्नुभएको थियो । शार्दूलविक्रिडित छन्दको त्यो कविता अहिले पनि मसँग सुरक्षित छ ।
शार्दूलविक्रिडित छन्दतिर त मलाई ध्यान त्यति गएन । अगाडिको कविता ‘विद्याकी रानी’ भन्ने कविता थियो लोकलयमा थियो त्यसले मलाई प्रभाव पार्यो । त्यो कविता फुर्सदको समयमा पढ्थेँ । पछि मैले चार कक्षामा जब सामाजिक शिक्षा पढ्न थालेँ सामाजिक शिक्षामा नेपाल र अंग्रेजको आन्दोलनको बयान गरिएको थियो । अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरका इतिहासलगायत अन्य पाठलाई कविताजस्तै बनाएर पद्यमा वाचन गर्न थालेँ । पूरै किताबलाई पद्यमा उतारेँ । त्यसको पाण्डुलिपि आज पनि मसँग छ । यो २०४४/४५ सालतिरको कुरा हो त्यही बेलादेखि मेरो साहित्यिक यात्राको सुरुवात भयो ।

पहिलोपटक पाएको पुरस्कारको सम्झना छ ?
पैंतालीस सालको अन्तिममा राजा वीरेन्द्रको जन्मोत्सवका बेलामा विद्यालयमा कार्यक्रम थियो । भव्य उत्सवका साथ भएको उक्त कार्यक्रममा विद्यार्थीमा केही प्रतिभा छन् भने सुनाउन अनुरोध गरिएको थियो । त्यही अवसरमा मैले पनि एउटा कविता सुनाएको थिएँ । त्यो कविता सुनाएवापत मैले २० रुपैयाँ प्राप्त गरेँ । १० रुपैयाँचाहिँ मेरो आफ्नै बाजे छविलाल जोशीले दिनुभएको थियो भने अर्को १० रुपैयाँ मैले गाउँको दाइ दुर्गाप्रसाद ढुंगानाबाट पाएको थिएँ । त्यो पैसाले मलाई एकदम ऊर्जा मिलेर २० रुपैयाँले मलाई मदनपुरस्कारसम्म पु¥यायो । अहिले सम्झन्छु अचेतन रूपमै मलाई हौसला मिलेको रहेछ ।

ऐना लेखनलाई कसरी सम्झनुहुन्छ ?
२०७० सालमा मैले ऐना लेखनको सुरु गरेको थिएँ । पहिला म गजल लेख्थेँ कविताका साथै कथा पनि लेखेँ । २०७० मेरो जीवनमा अकल्पनीय घटना भयो । बुबाको निधन हुँदा गर्भमै रहेकी बहिनीको एक्कासि भएको निधनले म विक्षिप्त भएँ । बुबा भदौमा बित्नुभयो बहिनी असोजमा जन्मिएकी थिई । उसलाई हुर्काएँ, बुबाको अभाव हुन कहिल्यै पनि दिइनँ । हाम्रो गाउँमा त्यो गाउँपलिकाभरि नै केटी मान्छेले एसएलसी गरेको अवस्था छैन । किनभने इन्डिया जाने सानैमा विवाह गरिदिने चलन छ । तर मैले आफ्नी बहिनीलाई डिग्री पास गराएँ । विवाह गरिदिएँ, भान्जा पनि भयो । तर उसले अकालमै संसार छाडेर गई । त्यसपछिको समयमा म विक्षिप्त बनेँ साउनमा बहिनीको मृत्यु भयो । भदौ र असोज दुई महिना म पागलजस्तै भएँ । कोठाबाट बाहिर निस्कनै सकिनँ । विस्तारै आफूलाई भुलाउँदै जाँदा २०७० बाट कथा लेख्न सुरु गरेँ । १८/२० वटा कथा भएपछि २०७२ मा मैैले ऐना प्रकाशन गरेँ । संघर्ष गरेर ऐना प्रकाशन गरेँ । त्यसपछि मेरो साहित्यिक जीवनले नयाँ मोड लियो ।

ऐनामा कस्ता पात्र अटाउनुभएको छ ?
सुदूरपश्चिको परिवेशमा लेखिएको हुनाले सुदूरपश्चिमकै पात्रहरू छन् । यद्यपि विश्वका हरेक ठाउँमा त्यस्तै समुदाय हुन्छन् किनारकृत समुदाय । यो जहाँ पनि हुन्छ । जोसँग पनि मिल्न सक्छ । यो कथा सबैको हुनसक्छ । तर परिवेशचाहिँ सुदूरपश्चिमको हो । पश्चिमका विशेषगरी निम्न वर्गीय पात्रहरू छन् । निम्न वर्गीय पात्र थारू पनि छन् । दलित पनि छन्, बेरोजगारीको समस्या छन् । बेरोजागरी समस्याले ग्रसित भएर दिल्लीमा चौकिदारी गर्ने पात्र पनि छन् । जे होस् निम्न वर्गीय पात्रहरू समेटिएका छन् । त्यो अशिक्षित अँध्यारो समाजको ऐना हो, त्यो प्रतिबिम्ब हो ।

आफ्ना उपन्यासमा पात्रहरूको छनोट कसरी गर्नुहुन्छ ?
म कहिल्यै पनि पात्रहरूको छनोट गर्दिनँ । जुन घटनाले मलाई छुन्छन् । तिनैलाई यथार्थमा उतार्छु । मैले केही नामकरण गरेँ हुँला तर ती सजीव पात्रहरू अहिले पनि तपाईंहरूले भेट्न सक्नुहुन्छ । एउटा भोकको अन्त्य कथा ठ्याक्कै वास्तविकसँग मिलेको छ । समाजमा दबिएका मूलधारमा नआएका, शोषित–पीडित पात्रहरूलाई समेट्ने प्रयास गरेको छु, मेरो दुवै उपन्यासमा ।

उपन्यासका पात्रहरू दुख्दा आफू पनि दुख्नुभएको छ ?
धेरैपटक दुखेको छु । हुन त हृदय नपग्लेसम्म पीडाले नछोएसम्म लेख्नै सकिँदैन । कति मान्छे दुःखले हिँडिरहेका हुन्छन् जसको भित्र संवेदनाले छुन्छ त्यसलाई घोरिएर हेरिरहेका हुन्छन् । पहिला लेखकले लेख्ने हृदयमा हो । उसको मन छोयो भने त्यो भनेको त लेखक रुने नै हो उसको मन छुने नै हो । रुने भन्दैमा आँसु नै निकाल्न त परेन नि ।

उपन्यासका पात्रलाई सम्झिँदाको कुनै अविष्मरणीय क्षण छ ?
धेरै क्षण छन् आफ्ना पात्रलाई सम्झँदाको । मैले आफ्ना पात्रहरूलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको छु । अहिले पनि मेरा पात्र गाउँ–समाजमा जीवितै छन् । एउटी हुन् मेरी हजुरआमा अर्थात् मेरी आमाकी माइली आमा ।
ऐनाभित्र रहेको ‘मध्यान्तर कथा’ उहाँलाई आधार बनाएर लेखेको हुँ । अहिले सुदूरपश्चिम विश्वविद्यालयको स्नातकतहमा पढाइ हुन्छ ।
आजभन्दा ७२ वर्षअगाडि हजुरबुबालाई कुष्ठरोग लाग्यो । त्यतिबेलाको नेपाली समाजमा कुष्ठरोग लाग्नुलाई ठूलो पाप मनिन्थ्यो । कुष्ठरोग लागिसकेपछि औैंलाहरू पाक्ने, पिप आउने र शरीर पाकेर झर्ने, सड्ने, औँला पनि झर्दै जाने हुन्थ्यो ।
समाजमा कुष्ठरोग लाग्यो भने ठूलै श्रापले ठूलै गल्तीले देवी–देवता बिग्रेर लाग्यो भन्ने अन्धविश्वास थियो । रोग लागेको मान्छे र उसको कुललाई समेत घृणा गरिन्थ्यो । कुष्ठरोग लागेपछि वंश नै खत्तमै हुन्छ भनेर गाउँबाट बहिष्कृतजस्तो हुन्थ्योे । सन्तान र छोराछोरीलाई त्यो बहिष्करणबाट जोेगाउन कुष्ठरोग लागेको मान्छेलाई कि डोकोमा राखेर ठूलो भीरमाथि खसाइदिने कि बोरामा बाँधेर कर्णालीमा लगेर बगाइदिने र घरमा आएर बोका काट्ने चलन थियो । बोका काट्यो भने देवता खुसी हुन्छन् र सबै पाप नाश हुन्छ भनेर जुठो पनि बार्दैनथे । जुठो बार्यो भने फेरि वंशमा कुष्ठरोग सर्छ भन्ने भ्रममा समाज बाँचेको थियो ।
मेरो मावलीघरको हजुरबुवाको २५/२६ वर्षको उमेर थियो । विवाह गरेर भर्खर एउटा सन्तान भएको थियो । हजुरआमाको उमेर १८ वर्षको हुँदो हो ।
गाउँका मान्छेहरू हाट (बजार) जान्थेँ त्यही हटियासँग मिलेर मेरा हजुरबुबाले उहाँलाई डोकोमा राखेर कर्णालीको किनारैकिनार तीन दिनसम्म बोकेर बन्डालको घनाघोर जंगलमा लगेर छाडिदिनुभयो । त्यसपछि उहाँको कुनै खबर आएन । आफ्नो मान्छेलाई मारेर उहाँहरू समाजका लागि बाँच्नुभयो ९२ वर्षकी बज्यै अहिले पनि जीवित हुनुहुन्छ ।
सानो छोरालाई हुर्काउँदै हुर्काउँदै उहाँले संघर्ष गर्नुभयो । उहाँको एउटा छोरा थियो मेरो मामा खेमराजजी । उनको चाहिँ उमेर लगभग ५५/५६ वर्ष भएको थियो । उनी इन्डिया आउने जाने गर्थे । त्यसपछि उनको परिवारमा अलि अशान्ति हुन थाल्यो । पितृलाग्यो भने हरिद्वार गए । कुशको मूर्ति बनाए । गंगामा बगाए । आए श्राद्ध गरे सत्कर्म गरे । पछि चिलाउने हेपाटाइटिस रोगले आमाकै काखमा बिते ।
१८ वर्षको उमेरमा आफ्नो श्रीमान् गुमाउनुभयो । ८० वर्षको उमेरमा छोरो गुमाउनुभयो । उहाँ आज पनि बाँचिरहनुभएको छ । उहाँलाई लाग्छ आफ्नो जीवनमा अझै मध्यान्तर भएको छैन । ती पात्रलाई सम्झँदा आज पनि मेरो आँखामा आँसु आउँछ ।

सखी कस्तो उपन्यास हो ?
कैलाली, कञ्चनपुरका थारू जातका समुदायमा आधारित रहेर लेखिएको कथा हो । थारू जतिलाई अरू जतिले कमैया राख्ने चलन थियो । यहाँ त उहिल्यै चन्द्रशमशेरले कमारा उन्मूलन गरेका थिए । तर त्यहाँ तराईतिर चाहिँ कमैया प्रथा छँदै थियो । जमिनदारले गरिब थारूहरूलाई कमैया राख्थे पहाडतिरबाट पहाडी समुदायका मान्छे तराई झरेर थारूहरूसँग रक्सी खाने रमाइलो गर्ने गर्दै उनीहरूको जग्गाजमिन हडपेर उनीहरूमाथि नै राज गर्थे । थारूका छोरीलाई भाँडा धुवाउने, बाउले हलो जोत्ने कहालीलाग्दो समाज थियो ।
सखी त्यही थारूको कथा हो । किस्मती भन्ने एउटी कमलरी कथामा सजीव पात्र बनेर आएकी छ । उसको बाबुले उसलाई बाटोमा छाडेर फरार भएको, मुसलमानले भेटाएर पहाडीले किनेको र त्यही कलमरी केटीले आफ्नो जीवनमा संघर्ष गर्नुपरेको कथा समावेश छ । थारू संस्कृति, थारू जनजीवनबारे उनीहरूको लवाइ–खवाइ उनीहरूको वेशभूषा कस्तो संघर्षबाट उनीहरू आए माटोसँगकोे उनीहरूको सम्बन्ध कस्तो छ ? भूमिपुत्र मालिक पनि हुन् तर उनको जीवनलाई कसरी विवश गरेर दास बनाइयोे भन्ने कथा थारू जीवन र थारू संघर्षमा आधारित रहेर लेखिएको छ ।

भदौ १७ गते (शुक्रबार) सार्वजनिक हुने बाआमा कस्तो उपन्यास हो ?
ज्येष्ठ नागरिकहरूको कथा हो यो । सन्तान र बाआमाको सम्बन्ध । बा–आमाप्रति सन्तानको कर्तव्य के हो ? पहिला के हुन्थ्यो के थियो ?
अब कसरी विघटन हुँदै गइरहेको छ ? मान्छेका जीवनहरू कसरी स्वतन्त्र हुँदै गइरहेका छन् ? धेरैजसो देश छाडेर विदेश जानेहरू छन् । यही अवस्थाले भोलि देश कता जान्छ । भोलि देश बेग्लै हुने नागरिकता बेग्लै हुने बाउ नेपाली छोरो अमेरिकी हुने सम्बन्धहरूको विचलन हुँदै गएको सम्बन्धको कथा हो । यो अलि संवेदनको कथा हो । बुकहिलबाट आउँदै छ ।

राजधानीका स्रष्टाले मोफसलका स्रष्टालाई फरक व्यवहार गर्छन् ?
दृष्टिचाहिँ फरक हुन्छ यहाँ अवसरको कुरा हुन्छ । यहाँ बस्ने मान्छेहरू राजधानीका हुन् भन्ने हुन्छ । मोफसलका विचारहरू यिनी सबै कुराबाट वञ्चित छ के लेख्यो होला के होला र भन्ने दृष्टिले पनि हेरिन्छ । अब राजधानीभन्दा बाहिर बस्ने स्रष्टालाई हेयको दृष्टिले हेरिन्छ । त्यो अनुभव मैले पनि गरेको छु, छन पनि छ ।
तर यो साहित्यको सबैभन्दा शक्तिशाली दृष्टि होइन, हेर्ने आँखा अर्को पनि छ । एउटा आँखाले त त्यसरी भेद–विभेदको दृष्टिले पनि हेर्छ । अरू आँखा पनि छन् उनीहरूको, आँखा त्यो रचनामा पर्यो भने । सिर्जनाको शक्ति महत्त्वपूर्ण हो । को कहाँ बस्छ भन्ने कुराले अर्थ राख्दैन । सिर्जना कहाँ बसेर लेख्यो भन्ने आधारमा सिर्जनाको शक्ति मापन हुँदैन ।

नेपालमा लेखेर बाँच्ने अवस्था छ ?
अहिले म काम नगरी लेखनमै लागेर यसैबाट जीवन चलाइरहेछु । मेरो हकमा कुरा गर्ने हो भने लेखेर बाँच्न सक्ने अवस्था छ ।

प्रतिक्रिया