सोमबार, वैशाख २४, २०८१

संझनामा भगवान दास श्रेष्ठ

सुनिल उलक २०८० वैशाख २६ गते १४:२१

काठमाडौं । सबैले सबै कुरा सम्झन सक्दैनन र सम्झन पनि चाहदैनन । १८ वर्ष अगाडि २०६२ बैशाख २६ गतेका दिन नारायणगढका ब्यापारी भगवानदास श्रेष्ठको गोली हानी हत्या गरिएको थियो ।

हुन त उनी ब्यापारी थिए । ब्यापारको साथसाथै सामाजिक सेवा पनि गर्थे । नारायणगढका ब्यापारी भए पनि उनी नेपाली चलचित्रका निर्माता एवं ब्यबसायी पनि थिए । उनले पोखरामा पनि पूर्णिमा चलचित्र हलको स्थापना गरेका थिए । सरकारले गठन गरेको जिल्ला अनुगमन समितिमा बसेकै कारणले उनको हत्या भयो ।

शहिद चोक स्थित आफ्नै घरको भुइतलामा रहेको औषधी पसलमा बसिरहेको अवस्थामा २०६२ बैशाख २६ गते बिहान ८ बजे माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेको थियो ।

बि.सं. १९८० तिर वीरगंजको डिट्ठा रहेका वीरबहादुर श्रेष्ठका नाति भगवानदास अहिले दानकी देवीका रुपमा चिनिनु हुने मैयादेवी श्रेष्ठको भदा थिए ।

यो तस्विर उनी २०२१ सालतिर चितवन हाइ स्कुलमा भगवानदासले पढ्नु हुँदा शिक्षक रहेका अमेरिकी पिसकोर भोलेन्टियर रन रान्सनले खिचेका हुन् । २०३० सालमा रन रान्सन नेपाल आउदा पोखरामा भेट हुँदा यो तस्बिर खिचेका हुन् । फोटोमा भगवान दास श्रेष्ठ आफ्नो छोरा उद्दवको साथ छन् ।

२०१९ सालमा नारायणगढमा स्थापित नारायणी कला मन्दिरको एक समय अध्यक्ष पनि बनेका थिए । उनको कार्यकालमा उनले बिभिन्न नाटकहरुको मञ्चन गराउनुको साथै कलाकारहरुलाई बेलायतमा समेत लगेर हौसला प्रदान गरेका थिए ।

नाटकसंग नजिकिएका उनी पछि नेपाली चलचित्रसंग आबद्ध समेत भए । उनले नारायणगढकै ब्यबसायी योगेन्द्र प्रधानसंग मिलेर पोखरामा सिनेमा हलको स्थापना गरे । अञ्चलाधिश शंकरराज पाठकको नेतृत्वमा पोखराको सर्वाङ्गिण बिकासको लहर चलाउँदै गर्दा भर्खरै बनेको न्यूरोडमा बि.सं. २०३३ साल चैतको चैतमा सिनेमा हल निर्माणको थालनी गरे । २०३६ भदौ १३ गते पूर्णिमा चलचित्र मन्दिर सञ्चालनमा आएको थियो ।

त्यहि समय हिन्दी फिल्ममा सर्वाधिक चर्चित भुतको फिल्म जानी दुश्मनले भारतमा निकै चर्चा कमाएको थियो । पूर्णिमा चलचित्र मन्दिरले आफ्नो शुभारम्भ यहि चलचित्रबाट गर्यो । पहिलो प्रदर्शनले नै निकै ब्यापार पनि गरायो ।

पछि भगवान दास श्रेष्ठ चलचित्र निमार्णमा पनि लागे । उनले कान्छी, सन्तान, नाता रगतको, मलाई माफ गरिदेऊ तथा भाईटीका चलचित्रको निर्माण गरे ।

स्व . श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया