आइतबार, मंसिर १८, २०७९

प्रचण्डसँगको त्यो भेट !

हरि अधिकारी २०७९ कार्तिक २२ गते १२:०१

सत्ताशीन गठबन्धनको एक नेताका हैसियतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको आमन्त्रण स्वीकार गरि म अस्ति आइतबार दिउँसो ४ बजे उहाँको निवास खुमलटार गएँ ।

प्रचण्डले म लगायत १२र१३ जना लेखक(पत्रकारहरूसँग आगामी निर्वाचनका सन्दर्भमा सर(सल्लाह गर्न त्यो जमघटको आयोजना गर्नु भएको रहेछ । भेला भएकाहरूमध्ये अधिकांश उहाँको दलसँग वैचारिक सान्निध्य भएकाहरू नै थिए । उहाँको समग्र राजनीतिक भाष्यसँग सहमत नहुने तर आगामी निर्वाचन सत्ताशीन गठबन्धनले हार्नु हुँदैन भन्ने सोच राख्नेहरूमा नारायण ढकाल, गेजा शर्मा वाग्ले, शंकर तिवारी, टीकाराम राई र म उपस्थित थियौँ त्यहाँ ।

मैले प्रचण्डलाई प्रत्यक्ष भेटेको त्यो पहिलो पटक थियो । त्यसैले म उत्साहित थिएँ । उहाँले सत्य हो वा कुटनीतिक भनाइ मात्र हो भन्न सक्दिनँस् ‘हरिजी मैले तपाइँलाई पढेको छु, राम्रोसँग चिन्दछु’ भन्नू भयो । मैले होला भन्ठानेँ । मनमनै ‘पढ्ने गर्नु भएको छ भने लौ पढ्नुहोस्’ भन्दै प्रकटमा ‘अध्यक्षज्युलाई मेरो यो पुस्तक उपहार’ भनेर आफ्नो संकलित गद्यसंग्रह दिएँ । त्यो दृश्यको फोटो पनि खिचेका छन् उहाँका सञ्चार सहायकहरूले ।

प्रचण्डले छलफलको क्रमलाई अगाडि बढाउँदै सत्ताशीन गठबन्धनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभयो र आगामी निर्वाचनमा यसको जीत सुनिश्चित गर्न सहयोग गर्नुहोस् भन्ने आग्रह गर्नुभयो । त्यहाँ उपस्थित सबै गठबन्धनले जितोस् भन्ने चाहना राख्नेहरू नै भएकाले उहाँको अनुरोधलाई सकारात्मक किसिमले लिएर सबैले आफ्नो हिसाबले सहयोग गर्ने वचन दिए ।

गठबन्धनमा सामेल दलहरूले परस्पर विरोधी घोषणापत्र जारी गरेको, सबै चुनाव क्षेत्रमा तालमेल मिलाउन नसकेको र चुनावपछि प्रचण्ड स्वयं गठबन्धन तोडेर अर्को खेमामा जानु हुन्छ कि भन्ने कांग्रेसहरूको मनमा रहेको आशंका निर्मूल हुन नसकेको जस्ता नकारात्मक कुराहरूतर्फ हामीहरूले उहाँको ध्यान आकृष्ट गर्‍यौँ । उहाँले सकभर विश्वसनीय भाषा र भङ्गिमामा त्यस्तो केही होइन, हुँदैन, हामी एक छौँ र लामो समयसम्म रहनेछौँ भनेर आश्वस्त पार्न खोज्नुभयो ।

प्रचण्ड निवासको बोझिलो हाइ(फाइ वातावरण र उहाँको कदाचित एक शक्तिशाली सामन्तको जस्तो छवि भने मलाई पटक्कै मन परेन । फौजी तागत देखाएर सत्ताको माथिल्लो सोपानमा पुगेको नेता भएर हुन सक्छ प्रचण्डले भारीभरकम सुरक्षा दस्ता राख्नु भएको रहेछ । उहाँको प्रस्तुति पनि फौजी जरनेलबाट जनताको नेता बन्न प्रयत्न गरिरहेको व्यक्तिको भन्दा धेरै फरक थिएन । सर्वसाधारण जनतालाई खुल्ला हृदयले अँगालो मार्न हर्दम तयार नेताहरूलाई देखे(भोगेको मानिस मेरालागि प्रचण्ड निवासको गर्‍हुँगो परिवेश उकुसमुकुस पार्ने खालको लाग्नु स्वाभाविक नै हो सायद ।
(अधिकारी बरिस्ठ पत्रकार हुन )

प्रतिक्रिया