नागरिकलाई स्वास्थ्य उपचार छैन, सरकारलाई भ्यू टावर चाहिएको छ : डा. राउत

नेपालखोज २०८० वैशाख २६ गते १६:१२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले नागरिकलाई स्वास्थ्य उपचार नभएको बेला सरकारले विकासको नाममा भ्यू टावर मात्र बनाएर बसेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा. राउतले यस्तो बताएका हुन् ।

उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए । उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए ।

‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं’, उनले भने, ‘नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं ।’

उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन नसकेको तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताए । उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लहैलहैमा लागेको आरोप लगाए ।

प्रतिक्रिया