मंगलबार, जेठ २८, २०८२

शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा

नेपालखोज २०८० वैशाख २७ गते १३:५८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उनले भने, ‘अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।’

नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उनको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उ्नले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताए ।

प्रतिक्रिया