बुधबार, वैशाख २६, २०८१

सरकारको विज्ञापन नीतिप्रति आनको आपत्ति

नेपालखोज २०८० वैशाख २७ गते १७:५२

काठमाडौं । सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन) ले आपत्ति जनाएको छ । आनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको विज्ञापन नीतिप्रति आफ्नो आपत्ति ब्यक्त गरेको हो ।

आनले जारी गरेकाे विज्ञप्ति लेखिएकाे छ, ‘विज्ञापन क्षेत्रमा पनि केही विकृति-विसंगति छन् । यसको न्यूनीकरणका लागि विज्ञापन बोर्ड तथा एजेन्सीको पहलमा विज्ञापन आचारसंहिता- २०७९ पनि जारी भएको छ । यो आचारसंहिता लागू हुन नपाउँदै एकाएक कुनै पक्षको बहकाव, झुकाव तथा दबाबमा गैरजिम्मेवार ढंगबाट सरकारले एकद्वार नीति तथा समानुपातिक विज्ञापनलाई ऐनअनुसार विज्ञापन नियमावलीमा समेट्ने भन्ने बेहोराको क्याबिनेट निर्णय आएको छ । २०८० वैशाख २० गतेको यो निर्णयको आन घोर भर्त्सना गर्दछ ।’

विज्ञापन चक्रको एक महत्वपूर्ण पक्ष भएकाले आन विज्ञापन क्षेत्रमा विद्यमान विसङ्गति हटाउने कार्यका लागि सरकार तथा सम्बन्धित मन्त्रालयबाट लिइने कुनै पनि कदममा हातेमालो गर्न तयार रहेको तर, समानुपातिक एकद्वारका नाममा सरकारबाट विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि स्वीकार्य नभएको आनले बताएको छ ।

आनले यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । अन्यथा आनले विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

प्रतिक्रिया