दातृ निकायको सहयोग लक्षित वर्गमा पुर्याउनुपर्छ : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद्मार्फत राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने वैदेशिक सहयोग देशको कुनाकन्दरामा पुर्याउनुपर्ने बताएका छन्।
समाज कल्याण परिषद्का अध्यक्षसमेत रहेका मन्त्री आचार्यले बुधबार परिषद्मा पद बहाली गर्दै लक्षित समुदाय एवं वर्गसमक्ष सहयोग पुर्याउनेगरी राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनले समाज कल्याण ऐन, २०४९, संस्था दर्ता ऐन, २०३४ लगायतका सम्बन्धित कानुनलाई समयसापेक्ष संशोधन गरी समयानुकूल बनाउने बताए ।
साथै समाजकल्याण परिषद्को काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्नेमा मन्त्री आचार्यले जोड दिए । उनले परिषद्का पदाधिकारी/कर्मचारीलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी बुझेर कार्य गर्न निर्देशन दिए ।
मन्त्री आचार्यले आगामी दिनमा समाज कल्याण परिषद्मा धेरै कार्य गर्नुपर्ने भएकाले त्यसतर्फ आफूले ध्यान दिने बताए। उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई नेपालका लक्षित वर्गका लागि बढीभन्दा बढी स्रोत जुटाउन पनि आग्रह गरे ।

प्रतिक्रिया